जेठ २, धादिङ ।
मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलित नेपाल पत्रकार महासंघले शुक्रबार देशैभर प्रदर्शन गर्ने भएको छ ।

महासंघकोे पहिलो चरणको आन्दोलनका क्रममा जेठ ३ गते जिल्लाका सदरमुकाममा सञ्चार साधनसहित बृहत प्रदर्शन गर्न केन्द्रको निर्देशन भए बमोजिम आन्दोलन गर्न लागिएको रेडियो धादिङका स्टेशन म्यानेजर एवं नेपाल पत्रकार महासंघ धादिङका सचिव राजाराम शर्माले जानकारी दिनुभयो ।

महासंघले काठमाडौंमा संसदबाहिर र अन्य जिल्लाको सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक सहितका कानूनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित रहेको छ ।

शुक्रबार विहान ८ बजे आफुले प्रयोगर्ने सञ्चार साधन सहित बिचबजार चोकमा हुने आन्दोलनको कार्यक्रममा सहभागी हुन पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आग्रह गरेको छ । प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासंघले जनाएको छ ।

Facebook Comments