जेठ २५,धादिङ ।
नेपाली कांग्रेसले गत वैशाख २५ गतेदेखि देशव्यापी रुपमा सञ्चालन गरिएको एकमहिने हिमाल, पहाड र तराई–मधेस जागरण अभियान आज समापन भएको छ । सरकारलाई खबरदारी गर्न र पार्टी सुुदृढ गर्न भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशव्यापी जागरण सञ्चालन गरिएको थियो ।

जागरण अभियानकै क्रममा आज धादिङमा पनि एक कार्यक्रमको बीच जागरण अभियान समापन गरिएको छ । सदरमुकाम धादिङबेसिको सिरानबजारबाट सुरुभएको ¥यालि पुच्छारबजारमा आएर कोणसभा भएको थियो । नेपाली कांग्रेस धादिङका सभापती रमेश प्रसाद धमलाको अध्यक्षतामा भएको कोणसभा कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय कमिटिका सदस्य प्रदीप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । जागरण अभियान कार्यक्रमका प्रमुख अतिथि पौडेलले कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउँदै उहाँले व्यक्तिलाई नभई पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुुुभयो । साथै मुलुकमा रहेका तमाम चुनौतिहरु सामना गर्न सशक्त र प्रभावकारी भूमिका खेल्ने पार्टीको रुपमा कांग्रेस प्रस्तुत हुन पनि अनुुरोध गर्नुभयो ।

जागरण अभियान समापन कार्यक्रमका सभापति रमेश धमलाले जिल्लामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाइ बिना कारण धरपकड गर्ने गरेको र वर्तमान धादिङ जिल्लाको प्रहरी प्रशासन, जिल्ला प्रशासन कम्युनिष्ट सरकारको हनुमान भएको भन्दै समयमा नै नसच्चिय ती कार्यालयहरुमा नेपाल कम्युनिष्ट पार्टीको झण्डा लगेर राखिदिने चेतावनि दिनुभयो । सभामा नेपाली कांग्रेसका अधिकांश वक्ताहरुले वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारलाई अधिनायकवादी, हत्यारा, भ्रष्ट्राचारी, दलाल र लम्पसारवादी भएको जस्ता विभिन्न किसिमका आरोपहरु लगाएको थियो । एक महिने जागरण अभियानको समापन कार्यक्रममा केन्द्रिय, जिल्ला तथा स्थानिय तहहरुका वडा स्तर सम्मका विभिन्न जिम्मेवारीमा रहेका पार्टी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments