
तस्विर: राजाराम शर्माको फेसबुकबाट
अषाढ ७, धादिङ ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ काम्राङमा आजबाट घरघरमा खानेपानी पुगेको छ । तिर्खामुक्त गाउँपालिका बनाउने अभियान अन्र्तरगत डिप बोरिङ गरी निकालिएको खानेपानीको आज उद्घाटन गरी १ सय २२ घरमा पु¥याइएको फोकस नेपालका अध्यक्ष हेमराज छत्कुलीले बताउनुभयो ।
२०७२ सालको बैशाखमा गएको भूकम्पपछि खानेपानीको मुहान सुकेपछि काम्राङबासीले समस्या भोग्दै आएका थिए । पानीको समस्या भएपछि सिद्धलेक गाउँपालिका र अक्सफामसँगको सहकार्यमा फोकस नेपालले डिप बोरिङ गरी खानेपानी निकालेको हो । डिप बोरिङसंगै काम्राङ र कत्लेडाँडाका १ सय २२ घरधुरी, एउटा विद्यालय र एउटा आमा समूहको भवनमा धारा निर्माण गरिएको छ ।
१ सय ४२ मिटर गहिराइबाट बोरिङ गरी निकालिएको पानी ५० घनमीटर र ८ घन मीटरका २ ओटा ट्याँकी निर्माण गरी घरघरमा पानी वितरण गरिएको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो । काम्राङ खानेपानीको आज एक कार्यक्रमकाबिच प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभयो । उपभोक्ता समितिका अध्यक्ष मानबहादुर घलेको अध्यक्षतामा भएको खानेपानी उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जम्कट्टेलले खानेपानीलाई स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
काम्राङ खानेपानी आयोजना सम्पन्न गर्न सिद्धलेक गाउँपालिकाको ३० लाख १० हजार, म्याकडोनाल्डको सहयोगमा अक्सफामले ३९ लाख ७७ हजार ७ सय ३६ र स्थानीय जनश्रमदान १७ लााख ८२ हजार ८ सय ८ रुपैँया गरी जम्मा ८७ लाख ७० हजार ५ सय ५५ रुपैयाँ खर्च भएको फोकस नेपालका कार्यक्रम संयोजक रामहरि पन्तले जानकारी दिनुभयो ।