साउन ८ । 

विश्वकप छनोटको एशिया फाइनलमा नेपालले मलेसियामाथि शानदार जीत हात पारेको छ । सिंगापुरको इण्डियन एसोसिएसन ग्राउण्डमा भएको खेलमा नेपालले अन्तिम ओभर बाँकी छँदै ७ विकेटको शानदार जीत हात पारेको हो ।

मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेटको क्ष्तिमा भेट्टायो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले तुफानी अर्धशतकीय इनिङ खेले । उनले २० बलमै ५१ रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरे । २१ औं बलमा उनी आउट भए । प्रदिप ऐरीले १२ र विनोद भण्डारीले नटआउट १३ रन बनाए । मलेसियाका लागि मुहम्मद सिहादतले ३ विकेट लिए ।

नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गरेको मलेसियाले ७ विकेटको क्षतिमा ८३ रन बनाएको थियो । मलेसियाका लागि सइद अजिजले १५ बलमा ३० रन र विरन्दीप सिंहले १७ बलमा २१ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको लागि सोमपाल कामीले ३ विकेट लिए। बसन्त रेग्मीले २, सन्दिप लामिछाने र करण केसीले १–१ विकेट लिए ।

नेपालको दुई कीर्तिमान

आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाविरुद्धको खेलका क्रममा नेपालको दुई कीर्तिमान बनेको छ ।

पारस खड्काको अनुपस्थितिमा नेपालको कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लले थोरै बलमा अर्धशतक बनाउने विनोद भण्डारीको कीर्तिमान आफ्नो नाममा सारेका हुन् ।

ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन प्रहार गरे । यसअघि मलेसियाविरुद्धको शृंखलाका क्रममा विनोद भण्डारीले २५ बलमा अर्धशतक प्रहार गरी कीर्तिमान राखेका थिए ।

त्यस्तै, पहिलो विकेटका लागि ज्ञानेन्द्रले प्रदीप ऐरीसँग गरेको ६६ रनको साझेदारी पनि ट्वान्टी२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक साझेदारी हो । यसअघि कतारविरुद्धको खेलमा पारस खड्का र ज्ञानेन्द्रले ४९ रनको साझेदारी गरेका थिए ।

Facebook Comments