
भदौ १३, धादिङ ।
अझै पनि वास्तविक भुकम्प पिडितको घर नबनेको सरोकारवालाहरुले बताएका छन् । धादिङवेशींमा आज संञ्चालन भएको सरोकारवाला निकायसँग नितिगत छलफल कार्यक्रममा यस्तो बताएका हुन् । दक्षिणि धादिङको चेपाङ वस्तीमा वास्तविक भुकम्प पिडितहरुले निजि आवास निर्माणमा राज्यले दिएको सेवासुविधाबाट वञ्चित हुनुपरेको फियान नेपालका राजेन्द्र बस्नेतले बताउनुभयो ।
सरकारी र गैरसरकारी संघ संस्थाले त्यस्ता वास्तविक भुकम्प पिडितलाइ प्राथमिकता दिनुपर्ने बस्नेतले बताउनुभयो । यसैगरि पुननिर्माणको लागि गाउँघरमा खटिएका प्राविधिकहरुको गल्तीका कारण पनि कतिपय स्थानहरुमा वास्तविक भुकम्प पिडितहरु छुटेको उपभोक्ता हित संरक्षण मंञ्च धादिङका अध्यक्ष वेदबहादुर खाँडले बताउनुभयो । आवश्यकता नभएकाहरुले पनि घर अनुदान सम्झौताको लागि प्राविधिकहरुले सहयोग गरिदिने भएका कारण वास्तविक भुकम्प पिडित छुट्ने गरेको खाँडको भनाई रहेको थियो ।
यस्तै प्रवलिकरण विधि दिर्घकालिन नहुने भएकाले कार्यविधि सच्याउनुपर्ने दलित सेवा संघ धादिङ संघ धादिङका अध्यक्ष श्याम मगरातीले बताउनुभयो । त्यस्तैगरि रेडियो धादिङका स्टेशन म्यानेजर एवं नेपाल पत्रकार महासंघ धादिङका सचिव राजाराम शर्माले ईन्डियन एम्वेशीले बनाउने भनेको विद्यालय अझै किन बन्न नसकेको?, एकिकृत वस्ती निर्माणको योजना कार्यन्वयनमा किन जान सकेन लगायतका जिज्ञासा राख्नुभएको थियो ।
यस्तै भुकम्प प्रभावितको विषयमा काम गर्न जनप्रतिनिधिहरुलाई समस्या हुने गरेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले बताउनुभएको छ । काम गरिराख्दा पनि स्थानियबाट जस नपाईने गरेको अध्यक्ष थापाले बताउनुभयो । कहिँ कतै जनप्रतिनिधिहरुको गल्ती भएका कारण अबका दिनहरुमा नितिगित छलफल गरि ंस्थागत रुपमा सच्चिदै सरकारी तथा गैरसरकारी निकाय विच संयन्त्रकारी भुमिका निर्वाह गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालका अधयक्ष खेमराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको छलफल कार्यक्रममा प्रतिनिधि सभाका सांसद डा.रामकुमार अधिकारीको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयको विशेष अतिथ्य रहेको थियो । कार्यक्रममा उठेका सवालहरुका विषयमा जिल्ला कार्यन्वयन ईकाई शिक्षाका शेरबहादुर खाती, जिल्ला कार्यन्वयन ईकाई भवनका प्रमुख कोषनाथ अधिकारी र अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधारका जयराम श्रेष्ठले जवाफ दिनुका साथै जिल्लाको पुननिर्माणको अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो ।
जिल्लामा अहिले सम्म ४८ हजार ४ सय ५४ ओटा घर मात्र निर्माण सम्पन्न भएका छन् भने ६७ हजार ३ सय ३४ ओटा घर निर्माणाधिन अवस्थामा रहेको छ । यस्तै ४ सय ४० घरको गुनासो पुनरावलोकन गरिएको र २ हजार ७ सय ३५ लाभग्राहीकोे गुनासो फर्छौट भएको छ । । कुल सर्वेक्षण गरिएको घरधुरी ८९ हजार १ सय २१ संख्या मध्ये ५ हजार ३ सय ९३ जनाले अझै सम्म सम्झौता गरेका छनैन् । भने ५ सय ८१ विद्यालय पुननिर्माण गर्नुपर्नेमा अहिले सम्म २ सय ११ ओटा विद्यालयको पुन निर्माण काम सकिएको छ ।