
असोज १३, धादिङ ।
नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको घोषणा गर्नुभएको हो । सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो ।
अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गर्दै यस अभियानले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताउनुभएको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको घोषणा समारोहमा प्रधानमन्त्री ओलीले घोषणामा अन्तर निहित विविध पक्षलाई सवलीकृत गर्दै अनवरत रुपमा जनजागरण र जनचेतना फैलाउन आवश्यक भएकामा जोड दिँदै नेपाललाई अल्पविकसितबाट माथि उठाउने, गरिबीको रेखाबाट माथि पुग्ने, निरक्षता उन्मूलन गर्ने जस्ता कामका लागि सरकार सजगताका साथ योजनाबद्ध कार्यक्रमका साथ अगाडि बढेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो विकास हामीले गर्नुपर्छ ।

सचेत प्रयास हामीले अगाडी बढाउनुपर्छ । कुनै पनि देशलाई अर्काले आएर बनाइदिएर हुँदैन । आफैले बनाउनुपर्छ । यो घोषणाले नेपाल स्पष्टतः एक कदन अगाडि बढेको छ । नयाँ नेपाल यसैगरी बन्ने हो ।” उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न नेपाल हरेक दिन एक कदम अगाडिको अभियान थालेको उल्लेख गर्दै सामाजिक र स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि नयाँ उचाईमा पुगिएको बताउनुभयो ।
यसबाट मानिस निरोगी हुने, स्वास्थ्य उपचारमा हुने खर्च घट्ने, संक्रामण रोग कम हुने, मृत्युदर कम हुने र सरदर आयु वृद्धि हुने प्रधानमन्त्रीले बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालका ७५३ स्थानीय तह, ७७ जिल्लाहरुले गरेको खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपालललाई खुला दिसामुक्त घोषणा गर्नुभएको थियो ।