
असोज १३, धादिङ ।
जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा २ दिने आधारभुत आँखाको कर्नियल अन्धोपन निवारण सम्बन्धी तालिम सुरु भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंको आयोजना, साईट लाईफ नेपालको सहयोग तथा जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको समन्वयमा तालिम संञ्चालन भएको हो ।
निलकण्ठ नगरपालिका भित्रका महिला स्वास्थ्य स्वयम सेविकाहरुका लागि संञ्चालन भएको तालिममा २८ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुको सहभागीता रहेको छ । तालिममा आँखाको नानीमा चोटपटक लागेर हुने अन्धोपना रोकथामका लागि महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई जानकारी गराउने उद्देश्यले तालिम संञ्चालन गरिएको आँखा केन्द्र धादिङका वरिष्ठ नेत्र अधिकृत रामसिंह तामाङले बताउनुभयो ।

तालिममा स्वास्थ्य स्वयम सेविकाहरुलाई आँखाको नानीमा चोट लाग्यो भने २४ घण्टा भित्र निको हुने औषधीको विषयमा जानकारी दिने, यदि त्यो औषधीले पनि निको नभए जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा अथवा जटिल समस्या देखिएमा तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंमा रिफर गर्ने लगायतका विषयमा छलफल गरिने छ । तालिममा साईट लाईफ नेपालका विमल पौडेलले सहजीकरण गरिरहनुभएको छ। निलकण्ठ नगरपालिकाको प्रमुख भिमप्रसाद ढुङ्गानाको अध्यक्षतामा संञ्चालन गरिएको तालिमको उद्घाटन समारोहमा संघिय सांसद खेमप्रसाद लोहनीको प्रमुख आतिथ्य रहेको थियो ।