२० महिने वालिका सहित सोमबार धादिङमा १७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । कोरोना संक्रमण पुष्टी भएकाहरु सबै छिमेकी मुलुक भारतबाट फर्किएकाहरु हुन् ।
सोमबार कोरोना संक्रमण पुष्टी भएकाहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर १ का १७ बर्षका पुरुष, वडा नम्बर २ का २२ बर्षका पुरुष, वडा नम्बर ३ का ४० बर्षका पुरुष, वडा नम्बर ५ का ३० र ३५ वर्षका पुरुष, वडा नम्बर ११ का ४२ र ५५ बर्षका पुरुष, वडा नम्बर १४ का १४, २३, ३५, ४५, ५० बर्षका पुरुषहरु तथा २१, २७, ३६ बर्षका महिला र २० महिनाको बालिका रहेका छन् । वडा नम्बर १४ का संक्रमितहरु २० महिने वालिका सहित वुवा आमा गरि ३ जना एकै परिवारका हुन् ।
निलकण्ठ नगरपालिकाले निलकण्ठ माध्यमिक विद्यालयमा निर्माण गरेको क्वारेन्टाईनमा रहेका ३७ जना र नेत्रावती डबजोङ गाउँपालिकाको २ जना गरि ३९ जनाको जेठ २४ गते द्रुत परिक्षण अर्थात आरडीटी परिक्षणका क्रममा कोरोनाको आशंका गरिएको थियो । कोरोना आशंका गरिएकाहरुको पिसिआर परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौं पठाईएको थियो । कोरोनाको आशंका गरिएको ३९ जना मध्ये १६ जनामा कोरोना संक्रमणको पुष्टी भएको निलकण्ठ नगरपालिकाका स्वास्थ्य सह–संयोजक शिव रानाले जानकारी दिनुभयो ।
यस्तै गजुरी गाउँपालिका वडा नम्बर ५ की ३२ वर्षिया महिलामा कोरोना संक्रमण पुष्ट भएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिनुभएको छ । चिततवनको भरतपुर अस्पतालको क्वारेन्टाईनमा रहनुभएकी ति महिलामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका डा. श्रीराम तिवारीलाई उदृत गर्दै स्वास्थ्य संयोजक डा.रेग्मीले जानकारी दिनुभएको हो । रिपोर्ट पोजिटिभ आएका सबै व्यक्तिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
१६ जनाको अहिले धादिङवेशीमा रहेको आईसोलेसनमा उच्च सर्तकता र सावधानीका साथ उपचार भईरहेको रानाले बताउनुभयो । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । संक्रमित मध्ये नेत्रावती डबजोङ गाउँपालिकाका वडा नम्बर ३ का १ जना पुरुष, थाँक्रे गाउँपालिका वडा नम्बर ७ का एक जना पुरुष र गल्छी गाउँपालिका वडा नम्बर ८ कटुवालपौवाकी एक महिला गरि ३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने धुनीबेसी नगरपालिका वडा नम्बर ३ की २३ वर्षीया महिला, सिद्धलेक गाउँपालिका वडा नं ५ की २३ वर्षीय महिला र नीलकण्ठ नगरपालिका वडा नं ७ का ३३ वर्षीय पुरुष उपचाररत छन् ।