
मंसिर २, धादिङ ।
निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने पहिलो र दोस्रो चरणको चुनावको दिन सर्वाजनिक विदा दिन सरकासँग आग्रह गरेको छ । आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर १० गते र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मतदान हुने दिन मंसिर २१ गते सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको हो ।
मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने आयोगले जनाएको छ । सरकारी कार्यालय, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानका अधिकांश कर्मचारी निर्वाचन सञ्चालन एवं व्यवस्थापनमा खटिने भएको हुँदा मतदानका दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृहमन्त्रालयलाई आग्रह गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिर १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसमा सार्वजनिक बिदा दिनसमेत सरकारसँग आग्रह गरेको छ ।
निर्वाचनमा अधिकांश मतदान केन्द्र सामुदायिक, संस्थागत विद्यालय तथा क्याम्पसमा रहेका र मतदान कार्यको व्यवस्थापन कार्यका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान हुने दिनभन्दा तीन दिन अगाडि नै मतदान केन्द्रमा पुग्ने भएकाले विद्यालय तथा क्यापसमा दुवै चरणको निर्वाचनमा चार÷चार दिन बिदा दिन सरकारसँग आग्रह गरेको आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।