जिल्ला सदरमुकाम धादिङबेसी स्थित पुच्छारबजारमा रहेको धादिङबेसी बसपार्कको अवस्था हेर्दा कुनै एक फोहोर फाल्ने स्थल जस्तो देखिन थालेको छ । बजारको मुख्य सडकहरु राम्रो बनिरहदा बसपार्क भने दीन प्रतिदिन अव्यवस्थित र फोहोर हुन थालेको छ ।
वि.स. २०५४ सालमा सदरमुकामका ९ जना स्थानीयहरुले सामुहिक रुपमा ६ रोपनी ९ आना ३ पैसा ३ दाम जग्गा धादिङ नगर विकास समितिको नाममा निशुल्क रजिष्ट्रेशन गरि दिएको थियो ।

उक्त समयमा जग्गा दिनेहरुमा जनक ढकाल, कुल प्रसाद ढकाल, कुलनारायण श्रेष्ठ, मन नारायण श्रेष्ठ, लक्ष्मण बहादुर श्रेष्ठ, इन्द्र बहादुर श्रेष्ठ, ईश्वर कुमार श्रेष्ठ र अर्का एक जग्गाधनीले नीलकण्ठ ५ च को ११ कित्ताजग्गा बसपार्क सञ्चालनको लागि दिएको थियो ।
जग्गादाताहरु र तत्कालिन समयको भौतिक योजना मन्त्रालय, धादिङबेसी नगर विकास समिति धादिङबीच केहि सहमती भएको कागज धादिङ अपडेटले फेला पारेको छ ।

जसको पहिलो बुँदामा बसपार्कको लागि दिएको जग्गाको चारैतिर कम्पाउण्ड तथा तारबार गर्न नपाउने, बस व्यवस्थापन समितिमा अनिवार्य रुपमा जग्गादाताहरु सदस्य हुनुपर्ने, टिकट काउन्टर बसपार्कमा हुनुपर्ने, बसपार्कबाट मात्र बस आउने जाने गर्नुपर्ने । यदिबसपार्क अर्काे स्थानमा सारेमा उल्लेखित जग्गाहरु सम्बन्धी जग्गाधनीहरु लाइनै फिर्ता गर्नु पर्ने रहेको छ । तर हाल सम्म पनि व्यवस्थित बसपार्क नबन्दा जग्गादातहरु पश्चातापमा परेका छन् ।

बसपार्कको भौतिक संरचना निर्माणको लागि स्थानीय सरकार नीलकण्ठ नगरपालिका र अन्य सम्बन्धित सरोकारवाला निकायले ध्यान नदिदा अहिले सम्म बसपार्क व्यवस्थित हुन नसकेको बसपार्क वरिपरिका स्थानियहरु बताउछन् । जिल्ला सदरमुकामको एक मात्र बसपार्क व्यवस्थित गर्नको लागि जग्गादाता र स्थानीहरुले पटक पटक बसपार्क व्यवस्थित गर्न आग्रह र अनुरोध गर्दा पनि नीलकण्ठ नगरपालिकाले चासो नदिएको उनिहरुकोे गुनासो छ ।

विगतमा नीलकण्ठ नगरपालिका, स्थानीय र यातायात व्यवसायिहरुको पहलमा बसपार्क व्यवस्थापनको लागि विभिन्न समितिहरु निर्माण गरि बसपार्क व्यवस्थापन र सरसफाई लगाएतको काम भएको थियो । तर पछिल्लो समय उक्तकार्य रोकिदा बसपार्क दिन प्रतिदिन कुरुप हुँदै गएको छ ।

बसपार्क भित्र घर निर्माणका लागि आवश्यक सामाग्री वालुवा, गिटि, ढुङ्गा ईट्टा विक्रिीका लागि राख्ने, पुरानाथोत्रा गाडी राख्ने, सार्वजनिक गाडीहरुबाट निक्लने फोहोर र केहि कवाडी सामाग्री संकलन केन्द्र र सवारी साधनमर्मत स्थलका कारण बसपार्क बढि प्रदुषित र फोहोर भएको पाइन्छ । बनेका केहि सार्वजनिक भौतिक संरचनाहरु पनि संरक्षणको अभावमा जिर्ण हुन पुगेको छ ।

जिल्लामा आधा दर्जन यातायात व्यावसायी संघ–संस्थाहरु दर्ता छन् । जसमध्ये धादिङ मण्डली यातायात प्रा.लिमा ७८ ओटा, धादिङमा गा्रमिण यातायात प्रा.लिमा ३४ ओटा, ग्रामिण यातायात सहकारी संस्था लि.मा ४० ओटा, संयुक्त यातायात प्रा.लि.मा २६ ओटा, सुनौलो भैरवी व्यवसायी संघमा २३ ओटा, र निलकण्ठ नगर प्रा.लिमा २६ ओटा सार्वजनिक यातायात आवद्ध छन् । भने संघ संस्थामा दर्ता नै नभई लगभग ४ ओटा सवारी साधन संञ्चालनमा रहेको धादिङ मण्डली यातायात प्रा.लिका प्रवन्धक राजेश प्रजापतीले जानकारी दिनुभयो ।

फोटोमा हेर्नुहोस् :

Facebook Comments