प्रहरी चौकी बुढाथुमको नवनिर्मित भवनको मंगलबार उद्घाटन भएको छ । गंगाजमुना गाउँपािलका वडा नं ७ बुढाथुममा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थक सहयोगमा निर्माण गरिएको भवन मंगलबार विधिवत रुपमा उद्घाटन गरिएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनुभयो ।
भवन निर्माणका लागि बागमती प्रदेश सरकारले २ करोड रूपैयाँ उपलव्ध गराएको थियो । निर्माण कम्पनीले १ करोड ६९ लाख रूपैयाँमा ठेक्का कबोल गरेको आर डि एस् निर्माण सेवाका प्रोप्राइटर रामबहादुर सिलवालले बताउनुभयो । नव निर्मित भवनको मंगलबार एक कार्यक्रमकाबिच बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कननून मन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको हो ।


भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जम्कट्टेलले ग्रामीण क्षेत्रमा दुःख गरि सेवा प्रदान गर्ने प्रहरीलाई सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्दा मनोबल उच्च हुने बताउनु भयो । नागरिको सुरक्षा र समाजमा शान्ति स्थापना गर्न मन्त्रालयले प्रहरी चौकी निर्माणमा सहयोग गरेको पनि मन्त्री जम्कट्टेलले बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रतिनिधि प्रहरी निरिक्षक विमलादेवी श्रेष्ठले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा धादिङ प्रहरी प्रमुख खड्काले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश सांसद जगत सिंखडा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी वसन्त कुमार लामा, धादिङका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, गंगाजमुना गाउँपािलकाका उपाध्यक्ष एञ्जिला तामाङ, प्रमुख प्रशासकीय अधिकृत विनोद रोक्का लगायतको सहभागिता रहेको थियो । प्रहरी चौकी बुढाथुममा प्रहरी जनशक्ति निक्कै कम भएको स्थानीयले गुनासो गरेका छन् । प्रहरी सहायक निरीक्षक अर्थात् असईको नेतृत्वमा ५ जना मात्र जनशक्ति रहेको छ ।