नेपाली कांग्रेस धादिङले सोमबार सदरमुकाम धादिङबेसीमा वर्तमान कम्युनिष्ट सरकारको विरुद्धमा विरोध प्रदर्शन तथा सभा सम्पन्न गरेको छ ।

वर्तमान कम्युनिष्ट सरकारको सर्वसत्ताबादी प्रवृत्ति तथा अलोकतान्त्रिक कृयाकलापका कारण देशमा भ्रष्टाचार, विभेद, बलात्कार जस्ता अवराध बढ्दै गएकोले त्यसैको विरोधस्वरुप प्रदर्शन गरिएको नेपाली काँग्रेस धादिङले जनाएको छ । नेपाली काँग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि तथा सरकारको सर्वसत्तावादी प्रवृत्ति, अलोकतान्त्रिक कृयाकलापप्रति खबरदारी गर्न विरोध प्रदर्शन तथा सभा गरिएको नेपाली काँग्रेस धादिङका जिल्ल्ला सभापति रमेश धमलाले बताउनुभयो ।

सोमबार भएको विरोधसभालाई सम्बोधन गर्दै एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै सरकारको आलोचना समेत गर्नुभयो । अहिले नागरिकहरु कोरोना भाइरसको मारमा परिरहेको सभापति धमलाले बताउनुभयो ।  कोरोना महामारीको अवस्थामा सरकारले पीसीआर परीक्षण किन बढाएन, किन भेन्टिलेटरको व्यवस्था गरेन, किन आइसोलेशन र क्वरेण्टीनको उचित व्यवस्था गरिएन भन्ने प्रश्न गर्न आफूहरु सडकमा उत्रिनु परेको बताउनुभयो ।

कोरोनाका कारण देशमा लकडाउन गरिदा लार्खौ नेपाली सीमा क्षेत्र तथा विदेशमा अलपत्र परेको भन्दै सीमा क्षेत्रमा रहेका नेपाली नागरिकको उद्धारमा नेपाली काँग्रेसले नेतृत्व गरेको स्मरण गर्दै धमलाले अहिलेको सङ्कटमा पनि कांग्रेसले नै नेतृत्व गर्ने बताउनुभयो । यस्तै पछिल्लो समय एमाले र माओवादीबीच सत्ताको लागि मात्रै एकता भएको धमलाको भनाइ थियो ।

धादिङ जिल्लामा प्रशासन तथा जनप्रतिनिधिहरुको कार्यप्रति नेपाली काँग्रेस असन्तुष्ट रहेको सभापति धमलाले बताउनुभयो । उहाले प्रशासन र जनप्रतिनिधिहरुलाई जनतामुखी बन्न समेत आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धादिङलगायत देशभर नै सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर ¥याली निकालेका थिए ।

Facebook Comments