
सर्भिस फर पिस नेपालले सोमबार धादिङको विभिन्न स्थानमा सम्पन्न गरेका गतिविधिहरुका विषयमा समिक्षा गरेको छ । सर्भिस फर पिस नेपालका संस्थापक महासचिव सरोज कुमार खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा संस्थाले धादिङ जिल्लाको विभिन्न स्थानमा संञ्चालन गरेको गतिविधि, संञ्चालनमा रहेको परियोजनाहरु लगायतको विषयमा जानकारी गराईएको थियो । २०६३ सालमा स्थापना भएको संस्थाले द्धन्द्ध पिडित नागरिक, पछाडी परेका समुदायका महिला तथा वालवालिका लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
वि.स.२०५२ साल यता नेपालका विभिन्न भागमा सुरु भएको द्धन्द्ध र २०६३ सालमा नेपालको तराई भागमा सुरु भएको मधेश आन्दोलनको अवस्थालाई शान्ति तथा मेलमिलाप कायम गर्नका लागि सहजिकरण गर्ने उद्देश्यले सर्भिस फर पिस नेपालको स्थापना भएको संस्थापक महासचिव सरोज खनालले जानकारी गराउनुभएको थियो ।
संस्थाले धादिङमा शिक्षा, स्वास्थ्य खानेपानी अनाथ आश्रम निर्माण लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । यस्तै धादिङको निलकण्ठ नगरपालिकामा नगरपालिका र सर्भिस फर पिस नेपालको समन्वयमा ६ ओटा खानेपानी आयोजनाको काम भईरहेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले आगामी दिनहरुमा पनि नगरपालिकाको विकास निर्माणमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
तिर्खामुक्त नगरपालिका अभियानमा संस्थाले सहयोग गरेको भन्दै संस्थालाई धन्यावाद समेत व्यक्त गर्नुभयो । यस्तै कार्यक्रमका विशेष अतिथि एवं निलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले नगरपालिका र संस्थाको साझेदारीमा निर्माण भएका सबै खानेपानी आयोजनाको अनुगमनलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । कराडौं लागतमा निर्माण भईरहेको आयोजनाको काममा उपभोक्तालाई थप जिम्मेवारी प्रदान गर्दै आयोजनालई दिर्घकाल सम्म टिकाईराख्न तर्फ केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो ।
खानेपानी व्यवस्थापन सम्बन्धी तालिम पनि सम्पन्न
यस्तै सोमबारै संस्थाले खानेपानी आयोजनाको निर्माण पूर्वको तालिमको समेत आयोजना गरेकोे छ । नीलकण्ठ नगरपालिका र कोईकाको साझेदारीमा खानेपानी व्यवस्थापन समितिलाई निर्माण पूर्वको तालिम सञ्चालन गरेको हो ।
तालिममा जल उपभोक्ता संस्था दर्ता गर्ने, संस्थाको जिम्मेवारी, काम र कर्तव्य, खानेपानीको दिगो व्यवस्थापन, पेश्की लिने र फछर्योट गर्ने तथा विस्तृत कार्यान्वयन योजना निर्माण लगाएतका विषयमा जानकारी गराईएको थियो । नीलकण्ठ नगरपालिकाका लेखा अधिकृत भुमि राज श्रेष्ठ, सर्भिस फर पिसका फिल्ड संयोजक अर्जुन कुमार श्रेष्ठ र जिन्तु नकर्मीले सहजिकरण गर्नुभएको थियो ।
तालिममा खानेपानी आयोजना सञ्चालन गर्न लागिएको नीलकण्ठ नगरपालिकाका वडा नं २, ४, ५, ९ र १० का खानेपानी उपभोक्ता समितिका ४१ पदाधिकारीहरुको सहभागिता रहेको थियो । सर्भिस फर पिस नेपाल धादिङले नीलकण्ठ नगरपालिका भित्रका विभिन्न स्थानहरुमा खानेपानीको समस्या समाधान गर्दै आएको छ ।
विद्यालय भवन निर्माण लगायत खानेपानी क्षेत्रमा काम गर्दै आइरहेको सर्भिस फर पिसले यसबर्ष नगरपालिका भित्र ६ वटा ठुला तथा साना खानेपानी आयोजनाको निर्माण कार्य सुरु गरेको छ ।