
आज पौष महिनाको १५ गते तमु (गुरुङ) समुदायको साँस्कृतिक चाड तमु ल्होसार घरघरमा मनाईएको छ । कोरोना महामारीका कारण यो वर्ष घरघरमा आफ्नो परिवार जनसँग बसेर मात्र मनाईएको छ । भने केहि ठाउँहरुमा भने सिमित व्यक्तीहरु मात्र भेला भएर शुभकामना आदन–प्रदान तथा सांस्कृतिक कार्यक्रम गरि मनाईएको छ ।
कोरोना महामारीका कारण धादिङवेशीं बजारमा भने कुनै कार्यक्रमको आयोजना नगरिएको तमू ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद् धादिङका वरिष्ठ उपाध्यक्ष गणेश गुरुङले जानकारी दिनुभयो । गत वर्ष जिल्लाभरका गुरुङ समुदायका व्यक्तीहरु एकै ठाउँमा भेला भई हर्षाेउल्लासका साथ मनाईने भएपनि कोरोनाको जोखीमलाई मध्येनजर राख्दै यो वर्ष कुनै पनि कार्यक्रमको आयोजना नगरिएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।
यस्तै धादिङको ज्वालामुखी गाउँपालिकाको खरि जौंवारी र निलकण्ठ नगरपालिकाको वडा नम्बर १३ स्थित बटुवामा शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । गुरुङ समुदायको परम्परागत साँस्कृतिक मान्यता अनुसार यस पटकको तमु ल्होसार मुसा बर्गलाई विदाई गर्दै गाई बर्गलाई स्वागत गरी मनाईएको हो ।
तमु ल्होसार विभिन्न १२ वटा जीवजन्तुमा आधारित बर्गमा आधारित हुन्छ । जसमा गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर, मृग र मुसा रहेका छन । हरेक बर्षको षौष १५ मा एउटा वर्ग जाने र अर्को वर्ग आउने चक्र निरन्तर चलिरहन्छ । गुरुङ समुदायमा बर्गलाई बर्षको रुपमा मानिन्छ र त्यही बमोजिम गणना पनि गरिन्छ । जसअनुसार पौष १५ गते तमु समुदायले मनाउने तमु ल्होसार पर्वमा बर्ग फेरिने भएकाले आजको दिनलाई नयाँ बर्षको रुपमा पनि लिइन्छ ।
गुरुङ समुदायका पुरोहितहरु, बोन्पो लम, प्हच्यु, क्ल्हेप्रीले पौष १४ गते मध्यरात १२ बजे दोखदोखालो मन्साउनेदेखि लिएर ग्रह शान्तिलगायतका धार्मिक अनुष्ठान गरी पुरानो बर्गलाई विदाई गरी नयाँ बर्गको स्वागत गर्ने परम्परा छ । कतिपय स्थानमा पौष १४ गते मध्यरातमा पुजा गरिए पनि पौष १५ गतेको विहानीको झुल्के घामसंगै नयाँ बर्ग वा नयाँ बर्ष प्रारम्भ हुने मान्यता पनि रहेको छ ।
देश तथा विदेशमा रहेका सम्पूर्ण तमुहरुले तमु ल्होसार आ–आफ्नै मान्यता, शैली र अवस्था अनुसार मनाउँदै आएको पाइन्छ । यस बर्ष कोरोना महामारीका कारण गत बर्षको जस्तो रौनक नभए पनि घर घरमै ल्होसार मनाउन तमू ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषदले आह्वान गरेको थियो ।