
अपाङ्गता भएका व्यक्तीहरुको समावेशिता, पहुँच र सशक्तीकरणमा संञ्चार माध्यमको भूमिका विषयमा आईतबार धादिङका पत्रकारहरुसँग अन्र्तरक्रिया गरिएको छ ।
नेपाल अपाङ्ग महिला सँघको आयोजना तथा यूएसएआईडीको आर्थिक सहयोगमा आयोजना गरिएको कार्यशाला गोष्ठीमा सञ्चार माध्यमले अपाङ्गता भएका व्यक्तीहरुमाथी प्रयोग गर्नुपर्ने भाषा, अपाङ्गता भएका व्यक्तीहरुका बारेमा विशेष गरि महिला, सीमान्तकृत पहिचान भएका तथा अन्य प्रकारका अपाङ्गता भएका व्यक्तीको अधिकार र अवस्थाबारे समाचार प्रकाशन तथा प्रशारण गर्नुपर्ने, त्यस्तै निर्वाचनमा उनिहरुको विचार, सोचबारे खोजविन गर्नुपर्ने, अपाङ्गता भएका महिलाहरुको सफलतालाई प्राथमिकतामा राख्नुपर्ने लगायतका विषयमा अन्र्तरक्रिया गरिएको थियो ।
सार्वजनिक अवधारणा र प्रवृत्ति निर्माणका लागि सूचना एवं जानकारी प्रसार गर्न संञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने तथा विषयवस्तुमा शब्द चयनले सामाजिक कार्यमा सहभागीता बढाउने, प्रवृत्ति र आचरण सुधार्न सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय अपाङ्ग महिला संघ धादिङका फोकल पर्सन जानुका सुवेदीले विषयवस्तुमाथी सहजीकरण गर्नुभएको थियो ।
राष्ट्रिय अपाङ्ग महिला संघले धादिङको निलकण्ठ नगरपालिका, गजुरी, सिद्धलेक, थाँक्रे, गल्छी, त्रिपुरासुन्दरी, बेनिघाट रोराङ र ज्वालामुखी गाउँपालिका गरि ८ ओटा स्थानिय तहमा अपाङ्गता भएका महिलाहरुको सशक्तीकरणमा काम गर्दै आएको छ । संघले अपाङ्गता भएका महिलाहरुको हक अधिकार प्रदानको लागि स्थानिय तहलाई झकझकाउने, समस्याका बारेमा जानकारी गराउने लगायतका काम गर्दै आएको राष्ट्रिय अपाङ्ग महिला संघ धादिङका फोकल पर्सन जानुका सुवेदीले बताउनुभयो । कार्यक्रममा धादिङका विभिन्न संञ्चार माध्यममा आवद्ध पत्रकारहरुको सहभागीता रहेको थियो ।