
धादिङको वेनिघाटरोराङ गाउँपालिकामा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी चौपक्षिय सम्झौता भएको छ । बेनीघाट रोराङ गाउँपालिका, धादिङ उद्योग वाणिज्य संघ, मेगाक्यापिटल मार्केट्स लिमिटेड र मेगा बैङ्क नेपाल लिमिटेड बीच चौपक्षिय सम्झौता भएको हो ।
नेपाल राष्ट्र वैङ्कको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०७५ (संसोधित २०७७) बमोजिम सहुलीयत पूर्ण कर्जा प्रवाहका लागि गाउँपालिकामा चौपक्षिय सम्झौता भएको हो ।
नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५, (संशोधित २०७७) अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्धन गर्न, शिक्षित युवालाई आफ्नो रुची, सिकाइ, अनुभव साथै अध्ययनको आधारमा स्वरोजगार बन्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन सम्झौता गरिएको हो ।
यस्तै महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरि व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत कर्जा प्रदान गरी उद्यमशिलता विकास गर्न तथा वित्तिय पहुँच बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
सम्झौता कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी, उपाध्यक्ष देविप्रसाद सिलवाल, प्रमुख प्रशासकीय अधिकृत, उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रुद्रबहादुर खत्री तथा मेगाक्यापिटल मार्केट्स लिमिटेड र मेगा बैङ्क नेपाल लिमिटेडका प्रमुखहरुको उपस्थिति रहेको थियो ।