गंगाजमुना गाउँपालिकाको कार्यालयमा शुक्रबार भुमी सम्बन्धी समस्या समाधानका विषयमा एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।

भुमी सम्बन्धी समस्या समाधाान आयोग जिल्ला समिति धादिङले कार्यक्रमको आयोजना गरेकोे हो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित रुपमा बसोबास गरिरहेकाहरु लगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्यायिक वितरण र दिगो व्यवस्थापनको लागि कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र अव्यवस्थीत रुपमा बसोबास गरिरहेका भुमीहिन घरपरिवारको समस्या समाधान गर्ने उद्देश्यले शुक्रबार गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारी अध्यक्ष र वडा अध्यक्षहरु सदस्य रहने गरि पालिका स्तरिय भुमी सम्बन्धी समस्या समाधान समितिको समेत गठन भएको छ । समितिले छिट्टै वडा स्तरिय कार्यदल गठन गरेर भुमीहिन घरपरिवारको लगत संकलन गर्ने गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

भुमीहिनको लगत संकलन, भुमी सम्बन्धी बनेका विधेयक लगायतका विषयमा छलफल भएको अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी, एवं राजनितिक दलका पार्टी प्रतिनिधिहरुको सहभागतिा रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई भुमी सम्बन्धी समस्या समाधाान आयोग जिल्ला समिति धादिङका अध्यक्ष रामहरी अधिकारी, गंगा श्रेष्ठ र सञ्जय दुवाडीले प्रशिक्षण दिनुभएको थियो । धादिङमा यहि माघ २९ गते भुमी सम्बन्धी समस्या समाधाान आयोग जिल्ला समिति धादिङको गठन भएको थियो ।

Facebook Comments