
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित सल्लाघारीमा हुने हाट बजारको तयारी सकिएको छ । शुक्रबार सञ्चालन हुने हाटबजारमा ३० जना कृषकले नाम दर्ता गराएको वडा नम्बर ९ का वडा सचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । अब साताको एक दिन हाट बजार लाग्ने सचिव श्रेष्ठले बताउनुभयो ।
स्थानीय स्तरमा उत्पादित कृषि उपज र कृषिजन्य वस्तुलाइ बजारीकरण गरी स्थानीयको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले हाटबजार सञ्चालन गर्न लागेको हो ।
यस्तै कृषक गरी व्यावसायिक, आत्मनिर्भर बनाउनुका साथै स्थानीय उत्पादनलाइ प्रोत्साहन र प्रवद्र्धन गर्न हाट बजार संचालन गर्न लागिएको हो । आगामी बैशाख ३ गते एक कार्यक्रमको बीच नीलकण्ठ नगरपालिकाका उप–प्रमुख मनराज भण्डारीले उद्घाटन गर्नुहुने भएको छ ।
यस अभियानमा सहयोग गर्न वडा कार्यालयले स्थानीय सहकारी संस्था, कृषक समूह, कृषक, राजनैतिक दल, वुद्धिजिवी, समाजसेवीहरुका साथै सबै वडाबासीहरुमा अपिल गरेको छ ।
२०७७ साल चैत्र १९ गते बसेको वडा कार्य समितिको बैठकले हाटबजार संचालन गर्ने निर्णय गरेको थियो । यस बजार संचालनबाट कृषकहरुको उत्पादनको बजारीकरण र प्रवद्र्धनका साथै उपभोक्ताले सुपथ मुल्यमा स्थानीय स्वस्थ र ताजा कृषि तथा कृषिजन्य उत्पादन उपभोग गर्ने वातावरण सिर्जना गर्नको लागि यो बजार अवधारणा ल्याएको पनि वडाले जनाएको छ ।