धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित सल्लाघारीमा शुक्रबारबाट हाट बजार संचालन भएको छ । हाट बजारमा वडा नम्वर ८ र ९ का स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारी, फलफूल, पशुजन्य वस्तु बिक्रीको लागि राखेको वडा नम्बर ९ का वडा सचिव राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय स्तरमा उत्पादित कृषि उपज र कृषिजन्य वस्तुलाइ बजारीकरण गरी स्थानीयको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले हाटबजार सञ्चालन गरेको श्रेष्ठले बताउनुभयो । शुक्रबारबाट संचालनमा आएको हाट बजारको निलकण्ठ नरपालिकाका उपमेयर मनराज भण्डारीले उद्घाटन गर्नुभएको थियो । हाटबजारको उद्घाटन गर्नुहुदै उपमेयर भण्डारीले स्थानीय स्तरमा संचालन हुने हाटबजारले कृषिमा  व्यावसायिकरण, आत्मनिर्भर बनाउनुका साथै स्थानीय उत्पादनलाइ प्रोत्साहन र प्रवद्र्धन गर्न सहयोग मिल्ने बताउनुभयो ।

यस्तै हाट बजारमा सहभागी कृषकहरुले उत्पादनको बजारीकरण र प्रवद्र्धनका साथै उपभोक्ताले सुपथ मुल्यमा स्थानीय स्वस्थ र ताजा कृषि तथा कृषिजन्य उत्पादन उपभोग गर्न पाउने बताएका छन् । शुक्रबारबाट सल्लाघारीमा संचालन भएको हाटबजार अबदेखि प्रत्येक हप्ताको शुक्रबार नियमित संचालन हुने बताइएको छ ।

हाट बजार संचालन अभियानमा सहयोग गर्न वडा कार्यालयले स्थानीय सहकारी संस्था, कृषक समूह, कृषक, राजनैतिक दल, वुद्धिजिवी, समाजसेवीहरुका साथै सबै वडाबासीहरुमा अपिल गरेको छ । २०७७ साल चैत्र १९ गते बसेको वडा कार्य समितिको बैठकले हाटबजार संचालन गर्ने निर्णय गरेको थियो ।

Facebook Comments