
कोरोनाको बढ्दो जोखिमसँगै दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएको छ । कोरोना महामारीलाई मौका छोपी यतिबेला धादिङवेशींमा संञ्चालित केही खाद्यान्न पसलेहरुले भने खाद्यान्न वस्तुको मुल्य रातारात बढाएका हुन् ।
जब निशेधाज्ञाको कुरा आयो त्यसपछि किराना पसलेहरुले दैनिक उपभोग्य वस्तुको मुल्य बढायो, धादिङवेशींमा कोठा भाडामा बस्दै आएका एक जनाले बताए । १२ गतेवेलुकी सम्म १ सय १५ मा बेच्दै आएको ‘सनफ्लावर नामक’ एक प्याकेट खानेतेल १४ गतेदेखी १ सय २५ मा बेच्ने गरेको पाईएको छ ।
निशेधाज्ञाको हल्लापछि अन्य खाद्यान्नका सामाग्री चामल, दाल लगायतका अन्य वस्तुलाई पनि महंगो लिने गरेको स्थानिय उपभोक्ताले बताएका छन् । सामान्य अवस्थाको भन्दा बढि उपभोग्य वस्तुहरुको माग भएको र माग अनुसारको उत्पादन र आपूर्ति नहुनुका साथै उद्योगबाट नै मूल्य बढेर आएका कारण उपभोग्य वस्तु तथा सेवाहरुको मुल्यमा वृद्धि भएको व्यवसायीहरुले बताएका छन् ।
अहिले उपभोग्य वस्तुहरुमा ५ देखि २० प्रतिशत सम्म मूल्य वृद्धि भएको छ । सबैभन्दा बढि मूल्य वृद्धि खाने तेलमा भएको छ । पहिले २०० रुपैंया प्रतिलिटरमा पाउने तोरीको तेल अहिले २५० रुपैंयासम्म पुगेको छ । पहिलेको सामान्य अवस्थाको समय भन्दा अहिले अधिकांश उपाभोक्तहरुले धेरै मात्रामा उपभोग्य वस्तु खरीद गरी स्टक राख्ने गरेका कारण यस्तो अवस्थाको सृजना भएको बताएका छन् ।
यता उपभोक्ताहरुले भने कोरोनाको बढ्दो संक्रमण र संभावित बन्दाबन्दीको अवस्थालाई पूर्वाअनुमान गरी पुरानै स्टक सामानहरुको पनि मुल्य बढाएर बिक्रि गरेको बताएका छन् । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि कोरोनाको जोखिमसंगै उपभोग्य तथा अन्य सामाग्रीको मूल्यमा वृद्धि हुनुका साथै उधारोमा ठूला तथा होलसेल व्यवसायीहरुले सामान नदिंदा अत्यन्तै गाह्रो भएको ग्रामीण क्षेत्रका मझौला तथा साना व्यवसायीहरुको गुनासो रहेको छ ।
एक आर्थिक वर्षमा पटक–पटक दैनिकउपभोग्य वस्तु तथा सेवाहरुको मूल्य बढ्दा आमउपभोक्ताहरु मारमा परेका छन् । नियमित आम्दानीको स्रोत नहुने र दैनिकज्यालामजदुरी गरी आफ्नो हातमुखजोड्नु पर्ने वाध्यतामा रहेकामानिसहरुको लागिभने झन अभिषाप नै भएको छ ।
कालोबजारी गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउँछौं : प्रमुख जिल्ला अधिकारी ढकाल
धादिङवेशीं लगायत राजमार्गका केही व्यापारीहरुले मुल्य वृद्धि गरेको प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले स्विकार्नुभएको छ । उपभोक्ताहरुबाट मुल्य वृद्धिको गुनासो आएकाले हामी केहि दिनमै बजार अनुगमनमा निस्कने बताउनुभयो ।
यसभन्दा अघिपनि एक चरणको बजार अनुगमन गरिसकेको र कोरोना जोखीम अवधीभर बजार अनुगमनलाई निरन्तरता दिईने उहाँले बताउनुभयो । खाद्य सामाग्री लगायत दैनिक उपभोग्य वस्तुमा मुल्यवृद्धि गरेको भेट्टायौं भने कानून बमोजीमको कारवाही हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
दोष अनुसारको कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुहुँदै उहाँले त्यस्ता कालोबजारी गरेको थाहा पाए उपभोक्ता जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई तुरुन्त खबर गर्नपनि उहाँले अनुरोध गर्नुभएको छ ।