
पत्रकारले लेखेको समाचारको विषयलाई लिएर बेनिघाररोराङ गाउपालिकाका एक स्थानीयले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटसप्रति नेपाल पत्रकार महासंघ धादिङको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल पत्रकार महासंघ धादिङ शाखाका सदस्य एवं हिमालय टेलिभिजनका धादिङ संवाददाता विकास रौनियारले जेठ २४ गते हिमालय टेलिभिजनमा चेपाङ समुदायमा खाद्यान्न अभाव विषयक भिडियो समाचार प्रसारण गर्नुभएको थियो ।
पत्रकार रौनियारले प्रसारण गर्नुभएको समाचारलाई लिएर चरित्रहत्या हुने गरि सामाजिक सञ्जालमा लेखेको पाइएकोले प्रसारित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यस उपर कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदा हुँदै चरित्रहत्या हुने र आत्म सम्मानमा चोट पुग्ने किसिमले लेख्नु प्रेस स्वतन्त्रता विरोधी काम भएको महासंघको ठहर छ । महासंघ धादिङ शाखा पत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने यस्ता कृयाकलापको भर्त्सना गर्दछ विज्ञप्तिमा भनिएको छ ।
यस्तै विज्ञप्तिमार्फत अवका दिनमा पनि कसैले पत्रकारको मर्यादित पेशा र समाचार प्रति यस्ता प्रकारका टिप्पणी नगर्न सचेत गराउनुकासाथै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा समाचार संकलन गर्ने र प्रकाशन÷प्रशारण गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।