यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ।
सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

सो आइपीओमा छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले इन्स्योरेन्सलाई इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ। आईपीओ निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ मेरोलगानी डटकममा समाचार छ ।

Facebook Comments