प्रतिनिधिसभा सदस्य तथा रास्वपा नेता खगेन्द्र सुनारले आफूमाथि उठेका आरोपको निष्पक्ष र निर्मम छानबिन गर्न माग गर्नुभएको छ। उहाँले आरोप प्रमाणित भए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउँदै आफूले गरेको भनिएको गल्तीका कारण पार्टी, सरकार र अन्य निकायले जिम्मेवारी लिनु नपर्ने स्पष्ट पार्नुभएको छ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनारले आफूमाथि लागेका आरोपको सत्यतथ्य छानबिन गर्न र आवश्यक परे प्रतिनिधिसभा सदस्य तथा पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत आग्रह गरेका गर्नुभएको छ ।
‘मैले गरेको कुनै पनि कु-कर्मको पार्टी, सरकार सती जान पर्दैन। म पार्टी, सरकार र राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु,’ उनले लेखेका छन्, ‘मैले गरेको भनिएको पाप, अपराध प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु।’
सुनारले आफूमाथि उठेका प्रश्नको जवाफ छानबिनमार्फत खोजिनुपर्ने भए पनि यस प्रकरणमा जोडिएकी एक महिलामाथि मिडिया ट्रायल, अतिरञ्जित प्रचार तथा अनावश्यक तस्बिर, अडियो र भिडियो जोडेर टिप्पणी गरिएको भन्दै आपत्ति जनाउनुभएकाे छ।
उहाँले राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय महिलालाई यसरी लखेट्नु र सार्वजनिक रूपमा दुर्व्यवहार गर्नु स्वीकार्य नहुने उल्लेख गर्नुभएको छ । आफूमाथि कुनै गल्ती भएको भए प्रहरी वा अदालतमार्फत अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने उहाँको भनाइ छ।
सुनारले सम्बन्धित महिलाले आफू अन्यायमा परेको भए आफैँ मुद्दा दायर गर्ने बताउँदा बताउँदै पनि उनलाई विभिन्न माध्यमबाट दबाब दिइएको दाबी गर्नु भएको छ । प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बारम्बार भेट्न बोलाएको तथा मुद्दा हाल्न भनेको उहाँको स्टाटसमा उल्लेख छ।
उहाँका अनुसार, सम्बन्धित महिलाले आफ्नो जीवनबारे आफू सचेत रहेको र अन्याय भएको भए आफैँ कानुनी प्रक्रियामा जाने जवाफ दिएपछि ‘तिमीहरू दुवै जनालाई एकै झट्कामा सक्काउँछौं’ भन्ने धम्की दिइएको थियो। उक्त घटनाको केही दिनपछि अहिलेको घटनाक्रम विकसित भएको उहाँको दाबी छ।
सुनारले आफूमाथि प्रश्न उठाउन नपाइने भन्ने नभएको उल्लेख गर्दै सार्वजनिक भएका आरोपको सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिनुभएको छ ।
‘जे कारबाही हो, ममाथि होस्, मलाई स्वीकार छ। उहाँमाथिको आक्रमण मान्य छैन। त्यो गलत छ,’ उहाँले लेख्नुभएको छ।
उहाँले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गर्दै सम्बन्धित महिलामाथि प्रहरी, राज्य, समाज र सञ्चारमाध्यमबाट भएको भनिएको व्यवहारप्रति आपत्ति जनाउनुभएको छ ।











