साउदी अरबको जाजानस्थित तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा एक नेपाली कामदारको मृत्यु एको छ भने कैयौँ घाइते भएका छन् । मृतक र घाइतेको विस्तृत विरण भने प्राप्त भएको छैन ।
साउदी नेतृत्वको गठबन्धन र यमनका हुथी विद्रोहीबीच तनाव बढिरहेका बेला भएको आक्रमणले प्रशोधन केन्द्रको सञ्चालनसमेत प्रभावित पारेको अलजजिराले जनाएको छ ।
साउदी अरबको ऊर्जा मन्त्रालयले आक्रमणकारीको पहिचान खुलाएको छैन । तर, साउदी नेतृत्वको गठबन्धनले आक्रमणमा हुथी विद्रोहीको संलग्नता रहेको आरोप लगाउँदै नागरिक पूर्वाधारमाथि थप आक्रमण भए सैन्य जवाफ दिने चेतावनी दिएको छ ।
ऊर्जा मन्त्रालयका अनुसार, बिहीबार केन्द्रमा हवाई प्रक्षेप्यास्त्र प्रहार हुँदा आगलागी भएको थियो । त्यसपछि केही सञ्चालन कार्य अस्थायी रूपमा बन्द गर्नुपरेको मन्त्रालयले जनाएको छ ।
गठबन्धनले त्यसपछि यमनको होदेइदा प्रान्तमा रहेको हुथी विद्रोहीको क्षेप्यास्त्र प्रक्षेपणस्थल ध्वस्त पारेको दाबी गरेको छ । यता, साउदी समर्थित यमनी सरकारी फौजले पनि हुथी अखडाहरूमा सयौँ आक्रमण गरेको र त्यसमा दर्जनौँ लडाकु मारिएको वा घाइते भएको जनाएको छ ।
बढ्दो हिंसाले यमनको मानवीय संकट थप गहिरिने चिन्ता बढाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार गत अगस्टयता तीन लाख ६० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
साउदी अरबको जाजानस्थित लाल सागर तटमा रहेको एक तेल प्रशोधन केन्द्र आक्रमणमा विभिन्न राष्ट्रका अन्य केही कामदारहरू घाइते भएका छन् ।
घटनालगत्तै उद्धार टोली र प्राविधिक विशेषज्ञहरूले घटनास्थलमा पुगी घाइतेहरूलाई तुरुन्तै अस्पताल पुर्याएका थिए । उक्त आक्रमणबाट भएको क्षतिको मूल्यांकन र सुरक्षा जाँचको कार्य पनि अगाडि बढाइएको छ ।










