उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा आज त्रिपुरासुन्दरी गाउँपालिका–सल्यानटारका विभिन्न पसलमा बजार अनुगमन गरिएको छ।
अनुगमन टोलीले सल्यानटार क्षेत्रका होलसेल किराना पसल, फलफूल पसल, मासु पसल तथा खुद्रा पसलहरूमा अनुगमन गरेको हो। अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका खाद्य तथा उपभोग्य सामग्री फेला परेपछि टोलीले ती सामानहरू बरामद गरेको छ।
त्यसैगरी, व्यवसाय दर्ता तथा नवीकरण नगरेका र कर भुक्तानी नगरेका व्यवसायीहरूलाई निश्चित समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न सचेत गराइएको छ। तोकिएको समयभित्र व्यवसाय दर्ता, नवीकरण तथा कर भुक्तानी नगरेमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसहित सम्बन्धित पसलहरूलाई पत्रसमेत काटिएको छ।
अनुगमनका क्रममा पसलहरूमा अनिवार्य रूपमा मूल्यसूची राख्न, सरसफाइमा ध्यान दिन तथा उपभोक्तालाई गुणस्तरीय र सुरक्षित वस्तु उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरिएको छ।
बजार अनुगमनले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षण गर्नुका साथै व्यवसायलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।










