
आज गाईजात्रा पर्व , नेवार समुदायले विशेष महत्वका साथ मनाईने यस पर्वको रौनक छुट्टै हुने गर्दछ । कोरोना भाईरस महामारीका कारण यो वर्ष गाईजात्राको रौनकमा कमि आएको छ ।
धादिङका नेवार समुदायले विगतका वर्षहरुमा गाईजात्रा पर्व विशेष रुपमा मनाउँदै आएका थिए । तर गत वर्ष र यो वर्ष कोरोनाका कारणले गर्दा सांङ्केतिक रुपमा मात्रै मनाएका छन् । यो वर्ष मुल गाईलाई विच बजारको चोकमा राखेर पुजा गर्ने व्यवस्था मात्रै गरेको झिंगु नेवा समाज धादिङका सचिव नारायण लाल श्रेष्ठले बताउनुभयो ।
कोरोनाको जोखीम बढ्ने भएकाले मुल गाई घरघरमा नडुलाई संस्कृति र परम्परा जोगाई राख्ने उद्देश्यले मात्र गाईजात्रा पर्व मनाएको सचिव श्रेष्ठले बताउनुभयो गाईजात्रा विशेष गरी नेपालको नेवार समुदायले मनाउने पर्व हो । काठमाडौ उपत्यका, धादिङ लगायत विभिन्न स्थानमा बस्ने नेवार समुदायले आफ्ना मरेका आफन्तजनको संझनामा गाइजात्रा पर्व मनाउने गरेका छन्।
प्रताप मल्लको पालादेखी सुरु भएको यस पर्वमा नेवार समुदायमा गाइजात्रा पर्व मनाउँदा दिवंगत आत्मा सजिलै स्वर्ग पुग्न सक्ने जनविश्वास रहेको श्रेष्ठले बताउनुभयो । गाइजात्रा पर्वलाई समाजमा व्याप्त विकृति र विसंगति विरुद्ध व्यंग्य गर्ने पर्वका रुपमा लिईने भएकाले पनि आफुलाई गाईजात्रा पर्व धेरै रमाईलो र विशेष लाग्ने स्थानिय सुवास खतिवडाले बताउनुभयो । तर यो प्रतिकूल समयले गर्दा संस्कृति, परम्परा अलिकति पछि धकेलिएको महसुष भएकाले यसको निरन्तरताको लागि सम्पूर्ण नेवार समुदाय एकजुट हुनुपर्ने खतिवडा बताउनुहुन्छ ।
मुलगाईलाई विचबजार चोकमा राखेर नयाँ ढंगले गाईजात्रा मनाउन सुरु गरिएको झिंगु नेवा समाजका महासचिव राजकुमार श्रेष्ठले बताउनुभयो । गाईजात्राको पर्व नेवार समुदायको मात्र नभई सम्पूर्ण नेपालीहरुकै संस्कृति भएकाले निरन्तरता दिनुपर्ने झिंगु नेवा समाज धादिङका महासचिव राजकुमार श्रेष्ठल जोड दिनुभयो । ३ सय वर्ष अघिदेखि प्रताप मल्लले आफ्नो छोराको मृत्यु पछि रानीको मन भुलाउन गाईजात्रा पर्वको सुरुवात भएको थियो ।