धादिङका विभिन्न स्थानीय तहका बाढीपहिरोबाट प्रभावित परिवारहरुलाई प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शनिबार राहत वितरण गरेको छ ।
भारत सरकारले उपलब्ध गराएको आठ करोड बराबरको राहत सामाग्री लक्षित ६ जिल्ला मध्ये धादिङमा पहिलो चरणमा राहत सामाग्री वितरण गरिएको हो । जसमा खनियाँबास गाउँपालिका, रुविभ्याली गाउँपालिका, निलकण्ठ नगरपालिका तथा आमाको माया छात्रावासलाई राहत सामाग्री वितरण गरिएको छ ।

बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूलाइ विभिन्न प्रकारका टेन्ट, प्लास्टिक सिट, सुत्ने म्याट, अत्यावस्यक औषधि लगायतका सामग्रीहरू आज एक कार्यक्रमको आयोजन गरि वितरण गरिएको छ ।
स्थानीय सरकारसँगको समन्वयमा प्राज्ञिक विद्यार्थी परिषदमार्फत बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै राहत सामाग्री धादिङ लगाएत गोर्खा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, र दोलखा जिल्लामा वितरण गरिने प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकालले बताउनुभयो ।