तस्विर : कान्तिपुर
भाद्र ३० गते
राष्ट्रिय परीक्षा बोर्डले बुधबारदेखी कक्षा १२ को परीक्षा शुरू गरेको छ । यस अघि दुईपटक स्थगित गरिएको परीक्षा बुधबारबाट शुरु भएको हो ।
आगामी असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट कुल ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हँुदैछन् । पछिल्लोपटक परीक्षा शुरु हुनु ८ दिन अघि गत साउन २३ गते परीक्षा स्थगित गरिएको थियो । बुधबारबाट शुरु भएको परीक्षामा आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले ४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको जनाएको छ । परीक्षाको समन्वय प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला परीक्षा समितिले गर्नेछ । परीक्षामा १ हजारभन्दा बढी विद्यार्थी भएका ३४, ५ सयभन्दा बढी विद्यार्थी भएका ८९, सयभन्दा कम विद्यार्थी भएका करिब ३ हजार ४ सय, ५० भन्दा कम विद्यार्थी भएका २३, २५ भन्दा कम विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा परीक्षा हुनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले परीक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएपछि बसेको बोर्डको बैठकले परीक्षाको मिति तय गरेको थियो ।
त्यस अघि पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र (सीसीएमसी) ले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डले सबै परिक्षा केन्द्रमा हेल्थडेक्स राख्नुपर्ने, ज्वरो परीक्षण गरेर मात्र विद्यार्थी प्रवेश गराउने, अनिवार्यरूपमा सेनिटाइजर, मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जनामात्रै विद्यार्थी राख्ने गरी मापदण्ड तयार गरेको छ ।
परीक्षा बोर्डले यो पटक १०० पूर्णाङ्कै परीक्षा लिनेछ । गत वर्ष बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरेको छ । धादिङमा आज ३ हजार ३ सय २७ जना विद्यार्थीले परिक्षा दिएका छन् । ६९ ओटा आफ्नै विद्यालयबाट विद्यार्थीहरुले परिक्षा दिएको निमित्त शिक्षा विकास तथा समन्वय ईकाइ धादिङका कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय परिक्षा बोर्डले देशभरका परिक्षार्थीहरुलाई ईमेलबाट प्रश्नपत्र पठाएको थियो ।