
रुबिभ्याली गाउँपालिका वडा नम्बर २, तिप्लिङ स्वास्थ्य चौकीमा सोमबार बिहान निधन हुनुभएका नेपाली कांग्रेस धादिङका नेता जोमसाइ घलेको अन्त्यष्टि गरिएको छ ।
मस्तिष्क घातका कारण निधन हुनुभएका नेता घलेलाई नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला, पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य दिलमान पाख्रीन लगायतका नेताहरुले श्रद्धाञ्जली अपर्ण गरेका थिए ।
घलेको पार्थिव शरिरमाथी जिल्ला सभापति, पूर्वराज्यमन्त्रीलगायतका नेताहरूले पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् । मृतक घलेको सोमबारै गाउँमै अन्त्यष्टी गरिएको छ । नेता घलेलाई अन्तिम श्रद्धाञ्जली दिनको लागि नेताहरु धादिङवेशींबाट हेलिकप्टर चार्टर गरि तिप्लिङ पुगेका थिए । घलेको ६५ वर्षको उमेरमा मस्तिष्कघातका कारण निधन भएको हो ।
शनिबार बेलुका करिब ८ बजे उच्च रक्तचापले निकै असहज बनाएपछि उपचारको लागि तिप्लिङ स्वास्थ्य चौकीमा लगिएको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदाहुँदै मस्तिष्कघातका कारण निधन भएको परिवार श्रोताले बताएको छ ।
घले शैक्षिक, राजनीतिक तथा भौगोलिक रूपमा पिछडिएको धादिङका उत्तरी क्षेत्रका ग्रामीण भेगमा कांग्रेसका तर्फबाट राजनीतिक तथा सामाजिक जागरण फैलाउन पञ्चायतकालदेखिकै कृयाशिल नेता हुनुहुन्थ्यो ।