जिल्ला प्रशासन कार्यालय धादिङले राहदानी फारम संकलन र द्रुत राहदानी सिफारिस केही समयको लागि बन्द गर्ने भएको छ ।

सरकारले विद्युतीय राहदानी जारी गर्नको लागि इलाका प्रशासन कार्यालयमा आवश्यक पूर्वाधार तयार तथा प्रत्यक्ष दर्ता प्रणाली जडान कार्य गर्नुपर्ने भएकोले मंसिर ५ गते अर्थात् आइतबारदेखि राहदानी फारम संकलन र द्रुत राहदानी सिफारिस केही समयको लागि बन्द गर्ने प्रशासनले एक सुचना जारी गर्दै जानकारी गराएको छ ।

राहदानी विभागले सुरक्षित र भरपर्दो विद्युतीय राहदानी इ पासपार्ट जारी गर्ने तयारी गरिरहेको छ । विद्युतीय राहदानीका लागि कार्यालयमा प्राप्त भएका एमआरपीका पेन्डिङ फारमहरु यथासमयमै फछ्र्यौट गर्नुपर्ने, उपयुक्त कोठाहरु तयारी अवस्थामा राख्नुपर्ने, आवश्यक टेवल कुर्सीको व्यवस्थापन गर्नुपर्ने, तालिमको लागि राहदानी शाखामा कार्यरत कर्मचारीको व्यवस्थापन गर्नुपर्ने भएकोले यी सबै काम सम्पन्न गर्नको लागि जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएको एमआरपी फारम संकलन र द्रुत सेवाको सिफारिस मंसिर ५ गते आइतबारबाट अर्को सूचना नभएसम्मको लागि स्थगन गरिएको हो ।

यस्तै सेवाग्राहीहरुलाई विद्युतीय राहदानीको लागि राहदानी विभागको वेभसाइट www.emrtds.nepalpassport.gov  मार्फत अनलाइन फारम भरी मिति र समय लिएर मात्र विभागमा द्रुतसेवाको लागि लाइभ इनरोलमेन्ट गर्नुपर्ने व्यवस्था गरेको सुचनामा उल्लेख गरेको छ ।

राहदानी विभागका अनुसार करिव एक महिना पछि पुर्ण रुपमा नेपालबाट मागअनुसार विद्युतीय राहदानी जारी हुन सक्ने अवस्था भएकोले र हाल लाग्ने गरेको समय भन्दा कम्तिमा पनि आधा समयमा नै जिल्लाहरुमा राहदानी उपलब्ध हुने भन्ने जानकारी आएको समेत सुचनामा भनिएको छ ।

अब विद्युतीय राहदानी निवेदन दिन राष्ट्रिय परिचय पत्र वा सोको नम्वर आवश्यक हुने, हाल ३४ पृष्ठको साधरण विद्युतीय राहदानी मात्र उपलब्ध हुने, मेशिन रिडेबल राहदानी नारायणहिटीस्थित कार्यालय र विद्युतीय राहदानी त्रिपुरेश्वरस्थित कार्यालयबाट जारी हुने समेत राहदानी विभागले जनाएको छ ।

Facebook Comments