
केही व्यक्तीले पार्टी छाड्दैमा एमाले कमजोर नहुने नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताउनुभएको छ ।
पार्टी फुटेको नभई पार्टी अझै शसक्त र एक ढिक्का भएको पाण्डेले बताउनुभयो । धादिङको गल्छी गाउँपालिकाको अधिवेशन शनिबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आगामी मंसिर १० देखी १२ गते सम्म हुने एमालेको १० औं महाधिवेशनले राष्ट्रिय एकताको सन्देश दिने समेत बताउनुभयो ।
केहि असन्तुष्ट व्यक्तीहरु अन्तरसंघर्ष गर्न नसकेर पार्टीबाट बाहिरिएको भन्दै उहाँले एमालेको दशौं अधिवेशन राष्ट्रिय एकताको राष्ट्रिय अधिवेशन हुने दावी गर्नुभयो । एमाले जनताको मनमनमा छ, गलत उद्धेश्य बोकेर बनेका गठबन्धनलाई जनताले चुनावमा पराजित गर्ने र एमालेको एकल सरकार बन्न कसैले रोक्न नसक्ने समेत पाण्डेको दावी थियोे ।
कार्यक्रममा जनगायक बद्री पंगेनी, हाँस्य कलाकार राजा राजेन्द्र लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो । अधिवेशनले नयाँ कार्यसमसतिको चयन गर्नेछ । कार्यक्रमलाई एमाले प्रदेश कमिटिका नरेश खतिवडा, उमा नेपाल गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिना लगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।