मंसिर ५, धादिङ ।
नेकपा (माओवादी केन्द्र) धादिङले शनिबार जिल्लाको ९९ वटा वडामा अधिवेशन सम्पन्न गरि सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
शनिबार साँझसम्म नीलकण्ठ, नेत्रावती, धुनिबेसी, थाक्रे, वेनिघाट रोराङ, ज्वालामुखी र गंगाजमुना गाउँपालिका भित्रका सबै वडामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लामा रहेका जम्मा १ सय ४ वटा वडाहरु मध्ये ५ वटा वडामा सर्वसम्मत नेतृत्व चयनको लागि छलफल र प्रयास भईरहेको नेकपा माओवादी केन्द्र धादिङले जनाएको छ ।
नेतृत्व चयन हुन बाँकि रहेको वडाहरुमा गजुरी गाउँपालिकाको–४, सिद्दलेक –४, गल्छी –७, त्रिपुरासुन्दरी–५, रुविभ्याली गाउँपालिकाको –१ नम्बर वडामा छलफल जारी रहेको पनि नेकपा माओवादी केन्द्र धादिङका जिल्ला संयोजक विजय बुर्लाकोटीले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) को वडा संरचना अनुसार अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, सहसचिव १, कोषाध्यक्ष १ गरी कुल २९ सदस्यीय वडा कमिटी निर्माण गरिएको छ ।