धादिङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्यामा उत्साहजनक सहभागीता देखिएको छ । यहि मंसिर १७ गतेदेखि सुरु भएको मतदाता नामावली संकलन कार्यक्रममा नागरिकहरुको उत्साहजनक सहभागीता रहेको निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
धादिङमा बुधबार सम्म १९ सय २५ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालय धादिङले जनाएको छ । धादिङको ६ ओटा स्थानिय तहमा सुरु भएको मतदाता नामावली संकलनमा बुधबार ४ सय ६६ जनाले नाम दर्ता गर्राएका छन् ।
बुधबार गंगाजमुना गाउँपालिकामा ६२, गजुरी गाउँपालिकामा ८६, ज्वालामुखीमा ७६, धुनिवेशी नगरपालिकामा ४५, रुविभ्याली गाउँपालिकामा ५४, सिद्धलेक गाउँपालिकामा ४५, जिल्ला प्रशासन कार्यालयबाट ४१ र जिल्ला निर्वाचन कार्यालयबाट ५७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
२ चरणमा गरिने मतदाता नामावली संकलन कार्यक्रमको पहिलो चरण चलिरहेको छ । दोस्रो चरणमा मंसिर २८ गतेदेखि पुष ८ गतेसम्म संचालन हुनेछ । यस्तै दर्ता गर्न छुट भएकाहरुले अनिर्वाय रुपमा सक्कल नेपाली नागरिकता सहित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय धादिङबाट समेत दर्ता गराउन सकिने उहाँले बताउनुभयो ।