स्थानिय तहले ऐन नियम बनाउँदा सबैका सुझावहरुलाई समेट्न पर्ने धादिङका सरोकारवालाहरुले बताएका छन् । नागरिकहरुकै हितका लागि ऐन नियम निर्माण तयार गर्ने भएकाले निति नियम बनाउदाँ नागरिकको पूर्ण सहभागिता हुनुपर्ने भनाई राखेका हुन् । पारिस्परिक जवाफदेहिता परियोजना अन्र्तरगत डेक नेपालले धादिङवेशीमा आयोजना गरेको स्थानिय सरकारले निर्माण गरेका नितिहरुको संस्थागत कार्यन्वयनको अवस्थाको विषयमा भएको अनुशिक्षाण कार्यशालाका सहभागीहरुले यस्तो बताएका हुन् ।
स्थानिय सरकारले निर्माण गरेको ऐन, नियमावली, नीति, कार्यविधि, निर्देशिका, मापदण्ड, कार्ययोजनाहरुको कार्यन्वयनको अवस्थाको विषयमा छलफल गरिएको थियो । नगरपालिकाले ऐन नियम बनाएको भएपनि कार्यन्वय गर्न ठुलो चुनौती रहेको सहभागी वडा अध्यक्षहरुले बताएका थिए ।
संघ र प्रदेश सरकारले कानून नबनाईदिंदा चाहे अनुसारको स्थानिय तहले कानुन बनाउन नसकेको अध्यक्षहरुको भनाई थियो । नगरपालिकाले बनाएको शिक्षा ऐन खानेपानी जलश्रोत लगायतका ऐनहरु शंसोधन गर्नुपर्ने सहभागीहरुले भनाई राखेको थिए । छलफलमा उठेका सवालहरुको जवाफ दिनुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवं निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले केही ऐनहरु संसोधन गर्नुपर्ने भएकाले आवश्यकता अनुसार संशोधन हुँदै जाने बताउनुभयो ।
देशभरको स्थानिय तह मध्ये सबैभन्दा धेरै ऐन नियम र कानुन निर्माण गरि कार्यन्वयनमा ल्याउने पहिलो स्थानिय तह निलकण्ठ नगरपालिका भएकाले काम गर्दै जाँदा गल्तीहुने र यसलाई सकरात्मक रुपमा लिनुपर्ने बताउनुभयो । निलकण्ठ नगरपालिकाले हालसम्म १३ ओटा ऐन र २९ ओटा कार्यविधि गरि ४२ ओटा कानुन कार्यविधि मापदण्ड नीति बनाएर कार्यसम्पादन गरेको छ । यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम पौडेलले त्रुटि भएका ऐनहरु आवश्यकता अनुसार संशोधन गर्दै जाने बताउनुभयो ।
नगरपालिकाले निर्माण गरेको कानुन समग्र नगरवासिहरुको बृहत्तर हितको लागि हुने पनि बताउनुभयो । केहि कार्यविधिहरु थप्ने प्रक्रियामा रहेको बताउनुहुँदै उहाँले बदलिदो परिवेशलाई मध्यनजर गर्दै संघिय र प्रदेश सरकारसँग समन्वय गरि कार्यविधि, ऐन नियम बनाउनुपर्ने आवश्यक देखिएको बताउनुभयो ।
यस्तै सिर्जनात्मक र विकास पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले निलकण्ठ उत्कृष्ट विकास पत्रकारिता पुरस्कार वितरण गर्ने निर्णय भएको पनि बताउनुभयो । पत्रकारिता पुरस्कारको लागि नेपाल पत्रकार महासंघ धादिङ शाखा सँग समम्वय गरि मापदण्ड र कार्यविधि तयार गरिने पनि उहाँले बताउनुभयो । कार्यक्रममा निलकण्ठ नगरपालिकाका भित्रका वडा अध्यक्ष, कर्मचारी, कार्यपालिका सदस्यहरु, नागरिक समाजका अगुवाहरु, पत्रकारहरुको सहभागीता रहेको थियो ।