
नेपाल बार एसोसिएसनले बुधबार आफ्नो ६५ औँ स्थापना दिवस मनाएको छ । बार एसोसिएसनको स्थापना २०१३ साल पुस ७ गते भएको हो । बार दिवसका अवसरमा बारका आज देशैभरका शाखाले विभिन्न कार्यक्रम गरेका छन् ।
यस क्रममा धादिङ जिल्ला अदालत बार इकाइले आफ्नै सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, लोकतन्त्र र पेसागत हकहित तथा मर्यादालाई केन्द्रमा राखेर बार एसोसिएसनले काम गर्न कार्यक्रमका सहभागिहरुले सुझाव पनि दिएका छन् ।
कार्यक्रममा धादिङ जिल्ला अदालतका न्यायाधिष रमेश प्रसाद ज्ञवालीले अदालत र बारबीच सुमधुर सम्बन्ध हुनुपर्ने धारणा राख्नुभयो । न्यायाधिष ज्ञवालीले बार र बेन्चबीच परिपूरक सम्बन्ध हुनुपर्छ, दुवै स्वतन्त्र न्यायपालिकाको संरक्षण गर्ने निकाय हुन् त्यसैले एकले अर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था नरहेको पनि बताउनुभयो ।