सडक सुरक्षाको संवेदनशीलताको लागि नुवाकोटमा चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ ।
नुवाकोटका विभिन्न सडकमार्गमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएसँगै यातायात सुरक्षामा प्रभावकारिता आउने विश्वास गरिएको छ ।
विशेषगरि यात्रुवाहक सवारी साधनको चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित औषधि उपलब्ध गराइएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका ट्राफिक प्रमुख तथा वरिष्ठ प्रहरी नायब निरीक्षक मिलनकुमार सिंहले जानकारी दिनुभयो ।
स्वास्थ्य परीक्षणसँगै उनीहरूलाई ट्राफिक नियम सम्बन्धि जानकारी गराउने र सोही समयमा सवारी साधनको पाटपुर्जासमेत जाँच गरिने ट्राफिक प्रहरी प्रमुख सिंहको भनाइ छ ।
स्वास्थय परीक्षणमार्फत चालक तथा सहचालकलाई केही समय आराम गरेर मानसिकरुपमा तन्दुरुस्त बनाउन र ट्राफिक प्रहरीसँगको सहकार्य बढाउनसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।











