नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको २७ औं स्थापना दिवश आज विहिबार धादिङमा पनि भव्यताका साथ मनार्ईएको छ । नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका अध्यक्ष अनिल गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख प्रशासकिय अधिकृत सिता गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।

गुरुङ विद्यार्थीहरुले सिरान बजार स्थित आफ्नै कार्यालयमा केक काटेर स्थापना दिवस मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख प्रशासकिय अधिकृत सिता गुरुङ विद्यार्थीहरुले गरेको यो कार्य सराहनिय रहेको बताउनुभयो । अन्य जिल्लाको तुलनामा धादिङको गुरुङ समुदायको जनसंख्या कम छ भन्ने गरिएको भए पनि विद्यार्थीहरु एकजुट भएर आफ्नो जातित्वको क्षेत्रमा गर्दै आएका यस्ता क्रियाकलापले सकरात्मक सन्देश जाने बताउनुभयो ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुलेमा जन्मनुभएकी प्रमुख प्रशासकिय अधिकृत सिता गुरुङले आफ्नो निजामती सेवा प्रवेशका विषयमा समेत बोल्नुहुँदै शिक्षालाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो । गुरुङ विद्यार्थीहरु एसईई दिने १२ कक्षा पास गर्ने विदेश जाने लाहुरेमा भर्ती हुन जाने प्रवृति रहेकाले गुरुङ विद्यार्थीको संगठनले त्यो प्रवृतिलाई रोक्नुपर्ने बताउनुभयो । यस्ता औपचारिक कार्यक्रम भन्दा विद्यार्थीको व्यक्तित्व विकासको लागि पनि सशक्तीकरणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यस्तैगरि कार्यक्रममा उपस्थित तमू ह्युला छोंज र्धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय सदस्य हिराबहादुर गुरुङ, जिल्लाका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, तमुस्यो ह्युला छोंज र्धी गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका अध्यक्ष शान्तीमाया तमुस्यो लगायतकाले शुकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमकै अवसरमा नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको कार्यालय पनि उद्घाटन गरिएको छ ।

कार्यालयको प्रमुख अतिथि सिता गुरुङले रिवन काटेर उद्घाटन गर्नुभएको हो । अबदेखि गुरुङ विद्यार्थीले गर्ने हरेक कामहरु सोही कार्यालयबाट कार्यसम्पदान गर्ने अध्यक्ष अनिल गुरुङले बताउनुभयो । यसभन्दा अघि विद्यार्थीहरुले तमुह्युला छोंज धीं जिल्ला कार्य समिति धादिङको कार्यालयबाटै आफ्नो कार्य सम्पदान गर्दै आएको थियो ।

यस्तै नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धी धादिङले सञ्चालन गरेको विभिन्न कार्यक्रममा आर्थिक, भौतिक, नैतिक रुपमा अमूल्य योगदान गर्दै आउनुभएकोेमा तमुस्यो ह्युला छोंज धीं, गुरुङ महिला राष्ट्रिय परिषद्, जिल्ला कार्य समिति धादिङकी उपाध्यक्ष एवं समाजसेवी जमुना तमुस्योलाई हार्दिक धन्यवाद सहित सम्मान पत्र पनि प्रदान गरिएको थियो ।

Facebook Comments