
धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि १ अर्व ४९ करोड ८२ लाख २९ हजार २ सय ५५ रुपैयाँ संसोधित बजेट सार्वजनिक गरेको छ । दोस्रो नगरसभाको दोस्रो अधिवेशनमा उपप्रमुख दिपक विश्वकर्माले संसोधित बजेट चालुतर्फ ८७ करोड ७१ लाख २५ हजार ९ सय ९१ र पुँजिगततर्फ ६२ करोड ११ लाख ३ हजार २ सय ६४ रुपियाँ विनियोजन गरेको बताउनुभयो ।
पूर्व स्वीकृत वजेट चालुतर्फ ८५ करोड ६ लाख ५५ हजार ९ सय ९१ र पुँजीगततर्फ ६३ करोड २ लाख ३ हजार २ सय ६४ रुपियाँ गरी कुल १ अर्व ४८ करोड ८ लाख ५९ हजार २ सय ५५ रहेको थियो । चालु आर्थिक वर्षको बजेट १ करोड ७३ हजार ७० लाख रुपियाँले बृद्धि हुन आउने उपप्रमुख विश्वकर्माले बताउनुभयो ।
चालु आर्थिक वर्षको आर्थिक विकासतर्फ विनियोजित १२ करोड २ लाख ६४ हजार ४ सय ४६ रुपियाँमध्ये १३.०४ प्रतिशत खर्च भएको उनले बताए । सामाजिक विकासतर्फ ६१ करोड ७९ लाख ६९ हजार ९ सय ४५ रुपियाँमध्ये ५३.७१ प्रतिशत खर्च र पूर्वाधार तर्फ ५० करोड २१ लाख २६ हजार ७ सय ६४ रुपियाँमध्ये १७.४५ प्रतिशत खर्च भएको उपमेयर विश्वकर्माले बताउनुभयो ।
विगतको ५ वर्षर्का कार्यकालमा सेवा प्रवाहमा चुस्तता, पारदर्शिता सहित जनप्रिय कार्यक्रमहरु सञ्चालन गरेको नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगानाले बताउनुभयो । हाल दोस्रो कार्यकालमा देखिने खालको दिगो र समग्र विकासका लागि प्रथम नगर अधिवेशनबाट जनमुखी नीति तथा कार्यक्रम थालिएको छ ।
उहाँले भन्नुभयो,– ‘सुत्केरीलाई निशुल्क एम्वुलेन्स, विपन्न परिवारलाई रु. १० हजार अन्तिम संस्कार खर्च, विपतमा तत्काल राहत उद्धार, कृषि सहकारी, उद्यमीलाई विशेष अनुदान सहितको कार्यक्रम, पशुविमामा ९० प्रतिशत अनुदान, ७ वटा नयाँ स्वास्थ्य संस्था स्थापना गरी निशुल्क औषधी तथा ल्याव सेवा, शिक्षा क्षेत्रमा विशेष लगानी, सामाजिक संस्था, सहकारी, सामुदायिक, सांस्कृतिक, जातिय र धार्मिक संस्थाहरुलाई मागको आधारमा सहयोग, घुम्ति सेवा मार्फत टोलटोलमा सेवा प्रवाह नागरिक सेवाको नमुना उदाहरण हुन् ।,’ उहाँले भन्नुभयो ।

तिर्खामुक्त नगरको लागि बृहत खानेपानी योजना, ९५ किलोमिटर नगर चक्रपथ ट्रयाक, धादिङबेशी बजारको करिडोर डि.पि आर गरी निर्माण शुरु गरिएको उहाँले बताउनुभयो । नगरपालिकामा करिव ८५० किलोमिटर सडक निर्माण भएको छ । उहाँले भन्नुभयो,– ‘एक घर एक धारा, नमुना उद्योगग्राम आगामी वर्षमा पुरा हुन्छ ।
गाउँमा उत्पादनमूखि कार्यक्रम, पर्यटकिय सहरको परिकल्पना, धादिङबेशीमा अत्याधुनिक पार्किङ प्रणली सहितको बसपार्क, फोहोर व्यवस्थापन, स्वास्थ्य क्षेत्रमा प्रविधि र पूर्वाधारमा सुधार कार्य, वहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने, शैक्षिक प्रविधि र पूर्वाधार, कृषि तथा पशुपंक्षी विकास कार्यक्रम, खेलकुद, कला संस्कृति, लैङ्गिक तथा सामाजिक समावेशीकरण जस्ता क्षेत्रमा कार्यक्रम सञ्चालन भैरहेका छन् । जसले नीलकण्ठ नगरपालिकालाई उत्कृष्ठ नगरपालिका बनाउनेछ ।,’ उहाँले भन्नुभयो ।
समृद्ध नीलकण्ठ नगरको आधार, कृषि पर्यटन उद्यमशिलता सहितको पूवधार भन्ने मूल मर्मका साथ दोस्रो नगरसभाको दोस्रो अधिवेशन सम्पन्न भएको हो । नगरसभाकै अवसरमा नीलकण्ठ नगरपालिकाको लोगो बनाउने नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का प्रेमकुमार श्रेष्ठ, उत्कृष्ठ काम गर्ने कर्मचारी लोकनाथ उपाध्याय र इन्जिनियर विशाल कडेललाई सम्मान गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताउनुभयो ।