
धादिङ– स्थानीय सरकारले गरेका राम्रा कामको प्रचारमा पत्रकारिताको भुमिका महत्वपूर्ण रहेको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताउनुभएको छ ।
परम्परागत शैलीको पत्रकारिताको प्रभावकारिता कम हुँदै गएकोले नागरिकले चाहेको र बुझ्ने भाषामा सञ्चार माध्यम लाग्नुपर्ने उपप्रमुख विश्वकर्माले बताउनुभयो । सदरमुकाम धादिङबेसीमा आजदेखि सुरु भएको ३ दिने क्षमता विकास तालिमको उद्घाटन गर्नुहुँदै उप्रमुख विश्वकर्माले यस्तो बताउनुभएको हो ।
स्थानिय सरकारले गरेका राम्रा कामको प्रंशसा र खबरदारी गर्ने सञ्चार माध्यमको भूमिका प्रभावकारी बनाउन तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । नेपाल आदिवासि जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको आयोजना र नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।
तालिमको पहिलो दिन आज फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले उद्घोषण कला, बोल्ने शैली, शब्द चयन लगायतका विषयमा जानकारी गराउनुभएको थियो । भने फोनिज केन्द्रिय समितिका उपाध्यक्ष अमरध्वज लामाले पत्रकारिता पेशामा देखिएका चुनौतीहरु र अवसरहरुका विषयमा जानकारी गराउनुभएको थियो । यस्तै ध्रुवराज पराजुलीले पत्रकारितामा प्रविधि र फोटो सम्पादन सम्बन्धी आधारभुत टुल्सका विषयमा जानकारी गराउनुभएको थियो ।
धादिङका विभिन्न सञ्चार माध्यममा आवद्ध दलित र जनजाति गरि २१ जना पत्रकारहरुको सहभागिता रहेको थियो । नेपाल आदिवासि जनजाति पत्रकार महासंघ फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा सुरु भएको तालिममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो ।
साथै तालिम उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवाल, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव तथा फोनिजका सल्लाहाकार समिति संयोजक कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।