माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिंदैछन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । धादिङबाट सामुदायिक तथा संस्थागत गरी ४ हजार ९११ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई धादिङका कृष्णकुमार श्रेष्ठका अनुसार यस वर्ष जिल्लामा २४ वटा परिक्षा केन्द्रबाट २०७ जना प्राविधिक तर्फबाट, ग्रेडबृद्धि तर्फबाट २१ जना र खुल्ला विद्यालयबाट ३२ जना सहित ४ हजार ९११ जना विद्यार्थीहरु धादिङबाट एसईईमा सहभागी हुने छन् ।
परिक्षा केन्द्रमा परिक्षा दिने विद्यार्थीको ससंख्या घटे संगै रुबीभ्यालीको मुक्रापदेवि परिक्षा केन्द्र र सिद्धलेकको सिद्धेश्वर परिक्षा केन्द्र यो पटक हटाईएको उहाँले बताउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आउँदो २७ गतेसम्म सञ्चालन हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुँदैछन् ।
देशभर दुईं हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक÷एक तथा सबैभन्दा बढी काठमाण्डौमा एक सय २७ वटा परीक्षा केन्द्र छन् । यसवर्षको एसईईमा जापानमा रहेको केन्द्रमा २३ जना सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यसपटक एसईईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरेका छन् । यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली पनि लागू हुँदैछ । जसमा कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनैपर्छ । सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन ।
दुईं विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडिवृद्धि परीक्षा दिन पाउनेछन् । दुईंभन्दा बढी एनजी आए अर्काे वर्ष मात्रै ती विषयको परीक्षा दिनुपर्नेछ । यसअघि सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर न्यूनतम ३५ प्रतिशत अङ्क नल्याए विद्यार्थीले ग्रेड प्राप्त गर्ने व्यवस्था थियो ।
२०७६ देखि विद्यालय तह कक्षा १ देखि १२ मा नयाँ पाठ्यक्रम लागू भएसँगै मूल्याङ्कनमा पनि पाठ्यक्रम विकास केन्द्रले नयाँ ग्रेडिङ प्रणाली लागू गरेको हो ।