गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र तालको अवस्था अहिले सामान्य बनेको छ ।
आज बिहान वीरेन्द्र तालमा खसेको हिमपहिरोबाट तालको पानी छचल्किएर बग्दा बूढीगण्डकी नदीमा पानीको सतह बढेको थियो भने सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बगाएको थियो । तर अहिले अवस्था निकै सामान्य रहेको र कोही पनि आत्तिनुनपर्ने गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । गाउँपालिकाले पनि सूचना निकालेर अवस्था सामान्य रहेको र बूढीगण्डकी किनारमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै पर्यटन विभागका निर्देशक राकेश गुरुङले पनि अवस्था सामान्य रहेकाले पर्यटकलाई अत्याउने गरी सूचना प्रवाह नगर्न सञ्चारमाध्यमलगायत सबैसँग आग्रह गर्नुभएको छ । लार्केपास जाने घ्यापो खोलाको एउटा काठेपुल बगाउनुबाहेक बाढीले कुनै क्षति नगरेको उहाँले बताउनुभयो । मनास्लु आधार शिविरका होटल व्यवसायी मिङ्मा टी लामाले पनि अवस्था अरू बेलाकै जस्तो सामान्य रहेको बताउनुभएको गुरुङले जानकारी दिनुभयो ।
बिहान तालको पानी छचल्किँदा स्थानीय खोला र बूढीगण्डकीमा सामान्य बाढी आएपछि जिल्ला प्रशासन कार्यालय गोरखा र गृह मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेका थिए ।