अर्जुन श्रेष्ठ, धादिङ
असोज २५ गते
समाजमा देखिएका सामाजिक कूरीति अन्त्यका लागि बालबालिका नै सक्रिय रुपमा लाग्न थालेका छन् । ग्रामिण क्षेत्रमा १२-१४ वर्षमै विवाह गर्ने चलनबाट बालबालिकाले भोगेका समस्या देखेपछि बालविवाह जस्ता समाजमा देखिएका समस्या न्यूनिकरणमा जुटेको ७ औ अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा रेडियो धादिङद्धारा आयोजित टेकओभर कार्यक्रममा उनीहरुले बताएका हुन् ।
नाटक, विभिन्न चेतनामूलक कार्यक्रम, साँकृतिक कार्यक्रम, महिला समुहमा छलफल जस्ता कार्यक्रमबाट समाजमा जनचेतना दिदै आएको गजुरी गाउँपालिका ६ धादिङकी राधिका चेपाङले बताउनुभयो । बाल क्लवले समाजमा रहेका सामाजिक कूरीति न्यूनिकरणमा काम गर्न थालेपछि ५० प्रतिशत समस्या न्यूनिकरण भएको उहाँले बताउनुभयो । गाउँमा भएको ३ जोडी बालविवाह, बालविवाह गर्न तयारी गरेका परिवार, हिंसामा परेका महिला दिदिबहिनीको उद्धार गरेको चेपाङले बताउनुभयो । उहाँ भन्नुहुन्छ– सोच परिवर्तन नभएसम्म समाज परिवर्तन गर्न सम्भव छैन । पहिले बाल विवाह गर्न हुदैन भन्दा विवाह गर्न नदिने भयो भनेर भन्ने बालबालिका तथा अभिभावक अहिले हामीलाई नै सहयोग गर्दा आफुलाई खुषी लागेको उहाँले बताउनभयो ।

त्यस्तै, बलबालिकामा हुने समस्या समाधानमा महिला पुरुष दुवैलाई चेतना दिन आवश्यक रहेको भन्दै बाल क्लव मार्फत सक्रिय रुपमा लागेको बेनीघाट रोराङ गाउँपालिका ४ धादिङकी यलिशा घलेले बताउनुभयो । समाजमा बालबालिकाका समस्या समाधान गर्ने हो भने अभिभावकलाई जन चेतना दिन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ– समाजमा हुने लैङ्गिक हिंसाका कारण बालबालिकामा ठूलो असर परिरहेको छ । अभिभावकको बानी व्यवहार तथा निर्णयले बालबालिकालाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने हुदाँ बालबालिकाको समस्या समाधानमा अभिभावकलाई छुटाउन नहुने उहाँले बताउनुभयो । आफुले गर्दै आएको हरेक कार्यक्रममा अभिभावक, शिक्षक, गाउँका भद्र भलाद्मीहरुको सक्रिय सहभागिता हुने गरेको उहाँको भनाई छ ।
टेक ओभरमा किशोरीको नेतृत्व
गत वर्ष टेक ओभर कार्यक्रम सञ्चालिका सुष्मा गुरुङ हाल रेडियो धादिङ १०६ मेगाहर्जमा कार्यक्रम सञ्चालिका हुनुहुन्छ । टेक ओभर कार्यक्रमबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्न पाउँदा खुषी लागेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ– हामी किशोरी पनि नेतृत्व लिन सक्छौं। मात्रै हाम्रा लागि अवसर आवश्यक हो । समज रुपान्तरणमा हामी अमुल्य भूमिका खेल्नेछौ उहाँले बताउनुभयो ।
गत वर्ष बालिका दिवस झै यस वर्षपनि देशभरका ३ सय वटा सामुदायिक रेडियोहरुमा सिक्ने र नेतृत्व लिने कार्यमा किशोरीले पनि उत्तिकै क्षमता बहन गर्न सक्छन् भन्ने धारण निर्माण गराउन रेडियोमा रेडियो पत्रकारको जिम्मेवारीमा किशोरीको नेतृत्व अर्थात टेक ओभर अन रेडियो (Takeover on Radio) कार्यक्रम रेडियो धादिङमा गरिएको रेडियो धादिङका स्टेशन मेनेजर राजाराम शर्माले बताउनुभयो । अन्र्तराष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपालले किशोरीहरुका सवाल जनचेतना जगाउने उद्देश्यका साथ नेपाल लगायत विश्वभरी गल्र्स टेकओभर कार्यक्रम गत वर्ष पनि सञ्चालन गरेको उहाँको भनाई छ । कार्यक्रम टेक ओभर गर्ने सहकर्मी सुष्मा गुरुङ र अतिथि एवम् अभियन्ता २ जना गरी ३ जना किशोरीलाई प्रशंसा पत्र समेत दिएको उहाँले बताउनुभयो । सामुदायिक रेडियोको उद्देश्य समाजलाई सभ्य तथा समृद्ध बनाउन सहयोगीको भूमिका खेल्ने भएको भन्दै आगामी दिनमा नियमित यस्तै कार्यक्रम गर्ने उहाँको भनाइ रहेको छ ।

Facebook Comments