कात्तिक २३ ।
यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाईटीका लगाइदैंछ ।

भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले ११ बजेर ५५ मिनेटको उत्तम साइतमा नभ्याए दिनभरी नै टीका लगाउन सकिने बताउनुभयो । तिहारमा सप्तरङ्गी टीका लगाउने भनेर प्रचार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र निलो गरी पाँच वटा उल्लेख गरिएको छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गरिने धार्मिक एवम् सामाजिक परम्परा छ । तर अहिले दक्षिणा पनि लेनदेन जस्तो बन्न थाल्नु गलत भएको अर्थविद् केशव आचार्य बताउनुहुन्छ ।

Facebook Comments