मंसिर ३, धादिङ ।
आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा, आराधना, भजन कीर्तन र ब्रत बसी मनाइँदैछ ।
ब्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमिनमुनि फलेका खाने कुरा खाने गर्दछन् । असार शुक्ल एकादशीमा शीर समुद्रमा शयन गरेका भगवान विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरि आजको दिन बिउँझन्छन् भन्ने धार्मिक जनविश्वास रहिआएको छ ।
काठमाण्डुका इंचगु, विशंखु, शेषनारायण, चाँगुनारायण लगायतका विष्णु मन्दिरहरुको बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज बराह क्षेत्रमा विशेष मेला लाग्ने गरेको छ । हरिबोधनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ ।
असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ । आजका दिन तुलसीको मोठ सिँगारी फूलमाला लगाइदिएर विवाह गरिदिने चलन छ ।
आज धादिङ्गको साबिकको फुलखर्क गाविसमा गंगाजमुना मेलाभर्न भक्त जनहरुको विहानैदेखी घुईचो लागेको छ । प्रदेश ३ का उद्योग वन तथा वातावरण पर्यटन मन्त्री अरुण नेपालले आईतबार एक कार्यक्रमका विच मेलाको उद्घाटन गर्नुभएको हो । गंगाजमुना नेपालको एक एतिहासिक स्थल हो । जिल्लाको सुदूर उत्तरमा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्व बोकेको गङ्गाजमुना सदरमुकाम धादिङ्गबाट झण्डै १२ घण्टाको पैदल यात्रा र ४ घण्टाको सवारी यात्रामा पुग्न सकिन्छ ।
हरेक वर्ष हरिबोधनी एकादशीको दिनमा पहाडको टुप्पोबाट झरेको झरना र त्यसको मुनि पहरामा रहेको महादेवको मन्दिरमा दर्शन गर्नेहरुको ठूलै भीड लाग्ने गर्दछ । हरेक वर्ष हरिबोधनी एकादशीको अघिल्लो रात भक्तजनहरु जग्राम बस्ने र आजै बिहानै नजिकैको महादेवको मन्दिरमा बत्ती बाल्ने, फूलको डोली, गाईको दुध चढाउने र परेवा उडाउने गर्दछन् । मन्दिरमा बली नचढ्ने भएका कारण भाकल बुझाउन मन्दिर पुगेका भक्तजनहरुले परेवा उडाउने गर्दछन् ।
गंगाजमुनामा वर्षैभरि निरन्तर झरिरहने दिदीबहिनी अर्थात् गंगा र जमुना नामका दुई झरना पौराणिक कालदेखि प्रसिद्ध छन् । भगिरथ राजाको तपस्याको प्रभावले ब्रह्माबाट प्राप्त भएकी गंगा पृथ्वीमा ओर्लँदा पृथ्वी भासिने भएपछि महादेवले यसै स्थानमा गंगालाई आफ्नो शिरमा थापेको धार्मिक विश्वास रहिआएको छ । त्यस ठाउँमा अनेकन रुप एवं आकृतिको ढुंगाले बनेका मुर्ति देख्न सकिन्छ ।
एकादशीका दिन त्यहाँ टाढा टाढा बाट भक्तजनहरु जात्र भर्न तथा आफ्नो भाकल र पुजाका लागि भक्तजानहरुको ठुलै भिड हुन्छ । बिशेष वरीपरीका गाउ बसेरी, मान्बु, थुमी, बुढाथुम, मुलपानी, दार्खा, सल्यानटार, आगिन्चोक, सल्यानकोट, कारिगौं, री, सत्यदेवी र गोर्खा तथा नजिकको जिल्लाबाट पनि भक्त जनहरुको निकै भिड लाग्ने गर्दछ । त्यहाँ आज बेलुका भक्तजानहरु आउने र रातभर नाच गान गरि भोलि एकादशीको दिन बिहान पुजा गरेर भक्तजनहरु घर फर्कन्छन । गंगा जमुनाकै साथमा करिब २०० मिटर पश्चिमपट्टी रहेको कुकुर धाराको आफ्नै विशेषता रहेको छ । कुकुरले टोकेको मान्छेले त्यहाँ गई नुहाएमा रोगबाट समेत मुक्ति पाइन्छ भन्ने किंवदन्ती रहेको छ ।