अर्जुन श्रेष्ठ
मंसिर २०, धादिङ
निहाउरो अनुहार, समस्याको भूमरीसँग पैँठेजोेरी खेल्दा खेल्दै थाकेको ज्यान । घरबार श्रीसम्पत्ति उपचारमै सकियो । तर फेल भएको २ वटै मृगौला फेरेर खुषीले बाँच्ने दिन आएन । केवल पिर, पिडा अनि ऋणको भारीले उठ्नै नसक्नेगरी थिचियो मात्रै । २ मुठ्ठी सास रहेसम्म आश हुन्छ भनेझै दुवै मृगौला फेल भएका गंगाजमुना गाउँपालिका १ धादिङका मेन्जो तामाङ भन्नुहुन्छ– बाँच्ने रहर छ सहयोग गर्दिनुस् न है ।
खेतीपाती गरेर जिविको चलाउदै आएका तामाङ मध्यम वर्गिय परिवारका हुन् । एक्कासी विरामी भएर श्रीमतीले पोखराको मणीपाल अस्पतालमा उपचार गर्न लगेपछि मेन्जो तामाङ छाँगाबाट खसेजस्तै भएको बताउनुहुन्छ । कारण थियो २ वटै मृगौला फेल भएको रिपोर्ट । उहाँ भन्नुहुन्छ– भारी मन लिएर घर फर्केपनि २ वटै मृगौला फेल भएको विश्वास गर्नै सकिन । भरतपुर हुदै काठमाडौका अस्पतालहरुसम्म जचाँउन पुगँे । तर मैले विश्वास नगर्दैमा फेल भएको मृगौलाले काम गर्ने कहाँ हुन्थ्यो र । तामाङ थप्नुहुन्छ– मृगौलामा समस्या भएको पहिले कहिले थाहा भएन । बेलैमा उपचार गर्न पाइएको भए आजको यो अवस्था आउने थिएन होला । एउटाले मात्रै काम गर्ने भएपनि दुइ छाकको जोहो गर्न त सक्थेँ नि । अहिले न घरको न घाटको भएँ भक्किानिदै उहाँले आफ्नो पिडा पोख्नुभयो ।
जेठ २०७३ सालमा २ वटै मृगौला फेल भएको थाहा पाएपछि उपचारका लागि करिव १५÷२० लाख रकम खर्च भैसकेको तामाङको भनाई छ । उपचारको अन्तिम विकल्प मृगौला फेर्नुनै हो । उहाँले भन्नुभयो– भएको सम्पत्ति उपचारमै सकेँ । घर घडेरी, खेत वारी सबै बेचिसकेँ । अहिले आफै भाडामा बस्दैछु । सातामा २ दिन म्ष्बथिकष्क गर्न काठमाडौ जान्छु । महिनाको १५ हजार भन्दा बढी खर्च हुन्छ । ऋणको भारीले थिचिन थालेपछि विचमा केहि महिना, सातामा १ दिन मात्रै म्ष्बथिकष्क गर्दा चापेर कसो मरिन उहाँले आत्तिदै बताउनुभयो ।
सरकारले यस्ता विरामीलाई विभिन्न सेवा तथा सुविधा दिएपनि केहि नपाएको तामाङको गुनासो छ । पैसा तिरेका विल र कागजपत्र एक झोला छ । उहाँले भन्नुभयो– आफ्नो बलबुता र सम्पत्तिले रोग निको बनाउन सकिन । घर घडेरी खेतवारी बेचेर उपचारका नाममा पाएका कागजपत्र देख्दा मन साह्रै रुन्छ । अव त सम्पत्ति भने पनि, ऋण भने पनि यहि कागजपत्र हो आँसु पुछ्दै उहाँले बताउनुभयो ।
अवस्था दिनप्रतिदिन गम्भिर बन्दै गएको छ । उपचार गर्न लिएको ऋणले उस्तै चुर्लुम्म भएको छु उहाँले बताउनुभयो । लिएको ऋण साहुले माग्न थालिसके । कसरी तिर्नु, उपचार के ले गर्नु । मर्ने काल आएन बाँच्ने ताल आएन । दुइ मुठ्ठी सास रहेसम्म आश हुदो रहेछ । अहिलेसम्म कतैबाट सहयोग नपाएका तामाङ भक्कानिदै भन्नुहुन्छ– बाँच्ने रहर छ, कृपया सहयोग गर्दिनुस् न है ।

Facebook Comments