
कात्तिक २८, धादिङ ।
मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धादिङमा म्यादी प्रहरीहरुले सोमबार देखि काम सुरु गरेका छन् । म्यादी प्रहरीहरुले सोमबार देखि आफुले तालिम लिएको ठाउँबाट कामको सुरुवात गरेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव निरिक्षक राम बहादुर के.सीले बताउनुभयो ।
म्यादी प्रहरीलाई सदरमुकाम धादिङबेशी, खानीखोला, गजुरी, दार्खा, सल्यानटार, सुनौलाबजार, जोगिमारा र बेनीघाटमा तालिम दिइएको थियो । सोमबारदेखि तालिम लिएकै ठाउँबाट काम थालेका म्यादी प्रहरीहरुलाई मंङ्गलबारबाट भने सम्वन्धित ठाउँमा खटाइने प्रहरी नायव निरिक्षक राम बहादुर के.सीले बताउनुभयो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि म्यादी प्रहरीको भर्ना गरिएको उहाँको भनाई छ । निर्वाचनको लागि धादिङ जिल्लामा १३ सय ५९ जना म्यादी प्रहरीको भर्ना गरिएको छ ।
म्यादी प्रहरीमा भर्ना हुन युवाहरुको आकर्षण बढ्दो रहेको उहाँले बताउनुभयो । म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले पाएसरहको सेवासुविधा पाउने र ५५ दिनको सेवा अवधि रहेको प्रहरी नायव निरिक्षक के.सीले जानाकारी दिनुभयो ।