
सदरमुकाम धादिङवेशीं स्थित अरुण खोला किनारमा हिन्दुधर्मावलम्बीहरुले हर्षाेउल्लासका साथ छठ पर्व मनाईरहेका छन् । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाईने गरिन्छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।
सोही अनुरुप धादिङमा पनि तराई र पहाडी समुदाय मिलेर सामुहिक रुपमा अरुणखोला किनारमा छठ पर्व मनाउँदै आएका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व बुधबारदेखि सुरु भएको हो । कोरोना महामारीका कारण यसवर्ष भौतिक दुरी कायम गर्दै सिमित व्यक्तीहरु मात्र भेला भएर यो पर्व मनाएका हुन् ।
छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ ।

छठ पर्वको शुक्रबार मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँएको छ । बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ । यस पर्वमा परिवारको शुख शान्ती, समृद्धि र दिर्घायुको कामना गर्दै वर्त बस्ने गर्दछन् । भने छठी माताको वर्त बस्दा सम्पूर्ण मनोकांक्षा पुरा हुनुका साथै सन्तान नभएकाहरुले सन्तान प्राप्त समेत हुने धार्मिक विश्वास रहि आएको धादिङवेशीं विचबजारकी मञ्जुदेखी रौनियारले बताउनुभयो ।
यो वर्ष पारिवारिक शुख शान्तीको कामना सहित कोरोना माहामारी चाँडो परास्त होस् भन्ने कामना समेत भगवान सँग गरेको उहाँले बताउनुभयो । आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै महिला पुरुष दुबैले व्रत बसी पूजाअर्चना गरी छठ पर्व मनाउने गरिन्छ । यो वर्ष कोरोनाको महामारीलाई मध्यनजर गर्दै सिमित व्यक्तीहरु भेला भई छठ पर्व मनाईएको धादिङवेशीं स्थित शान्त बजारका अमनलाल शाहले बताउनुभयो । 
आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गरेका छन् । भने शनिबार विहानको उदाँउदो सुर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा सामापन गरिन्छ । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।
भिडियो हेर्नुहोस् :-
भिडियो छायांङ्कन/सम्पादन : राजेश रम्तेल