
तिर्खामुक्त नगरपालिका बनाउने उद्देश्यले धादिङको नीलकण्ठ नगरपालिकाले विभिन्न वडामा खानेपानी आयोजनाको सुरुवात गरेको छ । यसैबिच नगरपालिकाले वडा नम्बर १० स्थित ज्यामरुमा चिसोपानी भारमाले खानेपानी परियोजना र वडा नम्बर ९ को पाख्री खोला लिफ्टिङ खानेपानी परियोजना गरि २ वटा खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले शिलान्यास गर्नुभएको हो ।
खानेपानीको चरम समस्या झेल्दै आएका वडा नम्बर १० ज्यामरुङ र वडा नम्बर ९ ज्यामिरे पाल्पाका नागरिकहरु खानेपानी आउने भएपछि खुशी भएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर १० मा निर्माण हुन लागेको खानेपानी आयोजनाबाट १ सय १४ घरधुरी लाभान्वित हुने भएका छन् । २ ओटै खानेपानी परियोजनामा नीलकण्ठ नगरपालिका र सर्भिस फर पिसको सहयोग रहनेछ ।
४८ लाख ४८ हजार २ सय ८२ र समुदायको श्रमदान ९ लाख ६५ हजार ११ रुपैया गरी कुल ५८ लाख १३ हजार २ सय ९३ रुपैया ८६ पैंसाको लागतमा चिसोपानी भारमाले खानेपानी परियोजना सम्पन्न हुनेछ भने वडा नम्बर ९ ज्यामिरे पाल्पामा निर्माण हुन लागेको खानेपानी परियोजना ७५ लाख ५२ हजार २०, समुदायको श्रमदान १० लाख २२ हजार २ सय ९६ गरी कुल १ करोड ३५ लाख ७४ हजार ३ सय १७ रुपैँया ३० पैंसाको लागतमा निर्माण गर्ने लक्ष्य रहेको छ । आयोजनाबाट १ सय ७८ घरधुरीका नागरिकहरु लाभान्वित हुने बताईएको छ ।
यसैगरि निलकण्ठ नगरपालिका वडा नम्बर १ को ठाटी खोला लिफ्टीङ खानेपानी आयोजना र वडा नम्बर २ भुलभुलेमा पनि खानेपानी आयोजनाको शिलान्यास भईसकेको छ । यि दुवै खानेपानी आयोजनामा निलकण्ठ नगरपालिका र सर्भिस फर पिसको सहयोग रहेको छ ।