
धादिङमा बालिकाहरुका लागि संचालित बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले कक्षा छाड्ने दर घटाउन भूमिका खेलेको पाइएको छ । भीएसओ र आसमान नेपालको साझेदारीमा धादिङमा बालिकाहरुलाई लक्षित गरि बहिनी शिक्षाका लागि दिदी कार्यक्रम संचालन भइरहेको छ । कार्यक्रमअन्तर्गत बालिकाको शिक्षा पाउने अधिकार प्रवद्र्धन गर्न र समुदायबाट लैङ्गिक हिंसाको असर घटाउन विशेष गरि बालिका शिक्षाको लागि काम गर्दै आएको छ ।
यो कार्यक्रमबाट धेरै विद्यालय छाडि सकेका बालिकाहरु फेरि विद्यालय जान थालेका छन् । आर्थिक, सामाजिक, शारीरिक समस्याले विद्यालय नजाने निर्णय गरिसकेका बालिकाहरु अहिले भविष्यको लक्ष्य नै निर्धारण गरेर विद्यालय जान थालेको बालिकाहरुले बताएका छन् । निलकण्ठ नगरपालिका वडा नम्वर ७ मस्र्याङछाँपकी अञ्जना परियारले कक्षा ९ मा पढ्दापढ्दै विद्यालय छाड्ने निर्णय गर्नुभएको थियो । परिवारको नाजुक आर्थिक अवस्थाका कारण पढ्न नसक्ने मानसिकता बनाउनुभएका परियारले यो कार्यक्रममार्फत दिदीहरुकोे सहयोग र उत्प्रेरणाले पढाइलाइै निरन्तरता दिन पाएको बताउनुभयो ।
बहिनी शिक्षाका लागि दिदी कार्यक्रमको सहयोगबाट धेरै सकारात्मक परिर्वतन भएको अनुभव सुनाउदै परियारले भन्नुभयो– पहिले शिक्षक भन्नासाथ डर लाग्ने गथ्र्यो, अहिले शिक्षक साथीजस्तै बनेको छ ।
निलकण्ठ ७ मस्याङछापकै सुनिता श्रेष्ठले दिदीहरुको साथ र सहयोगले जीवनमा नसोचेको परिवर्तन आएको बताउनुभयो । कार्यक्रममार्फत पढाइलाई निरन्तरता दिन पाएसँगै व्यक्तित्व विकासमा टेवा पुगेको बताउनुभयो । आफ्ना कुरा खुलेर गर्न सक्ने भएको बताउनुभयो ।
कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्ने विपन्न परिवारका छात्राहरूका लागि अस्थायी अभिभावकको रूपमा सोही समुदायका दिदीहरूलाई जिम्मा दिने गरिएको छ । दिदीहरूले स्वयंसेवकको रूपमा आफ्नो समुदायका बहिनीहरूलाई नियमित हेरचाह गर्दै आएका छन् । दिदीहरूले उनीहरूलाई पढाइतर्फ आकर्षित गर्न उनीहरूको साथीजस्तै भएर नियमित सँगत गर्ने, उनीहरूका समस्याका बारेमा भलाकुसारी गर्ने र समस्यामा परामर्श गर्ने गरेको स्वयंसेवक दिदी रजनी राना मगरले बताउनुभयो ।
भिएसओ नेपालको सहयोगमा आसमान नेपालले विगत आठ वर्षदेखि बालिका शिक्षाको लागि काम गर्दै आएको छ । संस्थाले बहिनी शिक्षाका लागि दिदी कार्यक्रम मार्फत विद्यालय जान सहज बनाउन बालिकाहरुलाई शैक्षिक सामग्री सहयोगसँँगै उनीहरुको क्षमता विकासको लागि काम गर्दै आएको विहिबार सदरमुकाम धादिङबेशीमा भएको प्रदेश स्तरिय सिकाइ अनुभव आदानप्रदान कार्यक्रममा आसमान नेपालका कार्यक्रम व्यवस्थापक शेखर सापकोटाले जानकारी गराउनुभएको थियो । सो परियोजना धादिङ सहित पर्सा, सुर्खेत र लमजुङ जिल्लामा संचालन भइरहेको छ ।