अबको केही दिन मौसममा आएको परिवर्तनसँगै बाढी, पहिरो, डुबान, कटान र हिमपातको संभावना रहेकोले जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाबासीलाई सचेत रहन सुझाव दिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यही जेष्ठ १३, १४ र १५ गते देशका अन्य भेगसँगै बागमती प्रदेशमा पनि भारी वर्षा हुने, चट्याङ पर्ने र उच्च वेगको हावाहुरी चल्ने, हिमपातको सम्भावना देखिएकोले जिल्लाबासीलाई सतर्कता अपनाउन प्रशासनले सुझाव दिएको हो । विशेषगरि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिकाले विशेष सतर्कता अपनाउन प्रशासनले सुचनामार्फत सुझाव दिएको छ ।

यस्तै कुनै जोखिम भएमा वा घटना घटेमा तत्काल उद्दारको लागि जिल्ला प्रहरी कार्यालयको सम्पर्क नं. १०० मा वा ०१०–५२१४६४ वा सहायक प्रमुख जिल्ला अधिकारीको मोबाईल नं. ९८५११९६१३१ मा सम्पर्क गर्न समेत आग्रह गरेको छ । प्रशासन संभावित जोखिमबाट बच्न राहत तथा उद्धारको लागि तयारी अवस्थामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययले जानकारी दिनुभयो ।

यस्तै आवश्यक राहत तथा उद्धारको लागि प्रशासनले प्रदेश सरकार, रेडक्रस तथा अन्य सरोकारवालासँग सहयोग र समन्वयको लागि आग्रह गरेको समेत उपाध्ययले बताउनुभयो ।

Facebook Comments